काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंक १५ औं वर्ष पूरा गरी १६ औं वर्ष प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसर पारेर डिजिटल माध्यमद्वारा एकैसाथ ३२ शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ ।
बैंकले प्रदेश १ मा ४, प्रदेश २ मा ३, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंक अध्यक्ष भरतराज ढकालले नयाँ शाखा कार्यालय उद्घाटन गरे ।
अध्यक्ष ढकालले बैंकले नागरिकलाई आधुनिक बैंकिङ सुविधाका साथै वित्तीय तथा गैरवित्तीय सेवाद्वारा देशको अर्थतन्त्रमा योगदान दिँदै आएको बताए । कार्यक्रममा बैंकका वर्तमान सञ्चालक, पूर्वसञ्चालक, संस्थापक शेयरधनी तथा बैंकका उच्च पदाधिकारी, शाखा प्रबन्धक उपस्थित थिए ।
बैंकले ७ वटै प्रदेशका क्षेत्रीय तथा शाखामा विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरेको छ । विद्यालयमा स्टेसनरी सामग्री तथा फर्निचर वितरण, विभिन्न अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँमा डस्बिन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम, विद्यार्थीलाई न्याना कपडा, स्कुल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ ।
क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । बैंकले काठमाडौंको केन्द्रीय कार्यालय कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा बृहत रक्तदान आयोजना गरेको छ । उक्त कार्यक्रमबाट २०२ पोका रगत संकलन भएको बैंकले बताएको छ । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरिका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था छ ।