नबिल बैंक : कम्पनी विश्लेषण (सोमवार, ७ भदौ २०७८)

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रु. ४ अर्ब ५० करोड ४४ लाखभन्दा खुद नाफा गरेको छ । यस वर्ष वाणिज्य बैंकहरूमध्ये कम्पनीले सर्वाधिक खुद नाफा गरेको हो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको नाफा ३० प्रतिशत वृद्धि भएको हो । अघिल्लो वर्ष उक्त अवधिसम्म बैंकले रु. ३ अर्ब ४६ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज घटेकाले खुद नाफा बढेको हो । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा अघिल्लो वर्षभन्दा ३६ दशमलव २९ प्रतिशत बढी रु. ४ अर्ब १४ करोड ६२ लाखभन्दा बढी छ । वितरणयोग्य मुनाफाका आधारमा सूचीकृत कम्पनीमध्ये नबिल बैंकको प्रतिफल सर्वाधिक २९ दशमलव ९५ प्रतिशत रहेको छ । कम्पनीको चुक्ता पुँजी रु. १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार पुगेको छ । यो अवधिसम्म बैंकको जगेडा कोष रकम शेयर प्रिमियम र रिटेन्ड अर्निङसहित रु. १९ अर्ब ४८ करोड ३७ लाख कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. ३२ दशमलव ५४ रहेको छ भने प्रतिशेयर नेटवर्थ रु. २४० दशमलव ७३ छ । बिहीबारको आधारमा दोस्रो बजारमा कम्पनीको प्रतिशेयर मूल्य रु. १ हजार ४९० रहेको छ । निष्कर्ष कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र लामो पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयर मूल्य घट्न सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६३ दशमलव २१ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ६ दशमलव ६० बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य रेखा यी दुवै मूल्यरेखाको बीचमा छ । बिहीबारको शेयर मूल्य रु. १ हजार ४९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ४५९ मा टेवा पाउनेर महँगिए रु. १ हजार ५१९ मा प्रतिरोध पाउने देखिन्छ ।