काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेड (Three Star Hydropower Limited) ले आजदेखि पहिलो चरणको आईपीओ (IPO) विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्ड (Sebon)बाट कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशत शेयर विक्री गर्न अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत सर्वसाधारणमा १५ प्रतिशत शेयर कम्पनीले विक्री गर्नेछ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत दरको ४ लाख ९२ हजार ५०० कित्ता र दोस्रो चरणमा विक्री हुने १५ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको ७३ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो । आयोजना प्रभावित स्थानीयमा जारी हुने शेयर खरीदका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका वासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ता शेयर माग गर्न सकिनेछ ।
यो आईपीओ स्थानीयमा छिटोमा वैशाख २५ गतेभित्र विक्री बन्द हुनेछ भने छिटो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि जेठ ९ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने वैशाख २५ गतेसम्म आवेदन दिईसक्नुपर्नेछ ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धसँगै आयोजना प्रभावित स्थानीयले खोटाङमा रहेको सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंकको शाखा कार्यालयबाट आवेदन प्राप्त गर्न र पेश गर्न सक्नेछन् । साथै कम्पनीको आयोजना स्थलको कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले इक्रा एनपी इस्यूअर बि माईनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
यस कम्पनीले खोटाङमा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ पुस २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल निर्माण लागत १ अर्ब ३९ करोड रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रुपैयाँ छ ।