जेठ २२, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ हालसम्ममा जम्मा १८ दशमलव ६५ प्रतिशत विकेको छ ।
शुक्रवार बेलुकासम्ममा ४४० जनाले १ लाख ६७ हजार ९१० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले गत वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले यो आईपीओ छिटोमा जेठ ८ गतेसम्म विक्रीमा रहने मिति तय गरेको थियो । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेकाले जेठ १६ गतेसम्मको मिति तय गरेकोमा उक्त अवधिमा पनि माग बमोजिम आवेदन नपरेकोेले पुनः जेठ २३ गतेसम्म आवेदन दिने समयअवधि थप गरिएको छ।
यस आधारमा स्थानीय बासिन्दाले सोमवारसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरिरहेको छ । कम्पनीले विद्यमान जारी पूँजी रू. १ अर्ब ९ करोड ५० लाखको ८ दशमलव २२ प्रतिशत शेयर स्थानीयका लागि विक्री खुला गरेको हो ।
प्रतिशेयर रू. १०० मूल्यका रू. ९ करोड बराबरको ९ लाख कित्ता साधारण शेयर स्थानीयले खरीद गर्न सक्नेछन् । आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुहरुले यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की) माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।
साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
हाल संस्थापकतर्फ रू। ८७ करोड चुक्तापूँजी कायम रहेको कम्पनीले स्थानीयमा आईपीओ जारी गरेपश्चात सर्वसाधारणमा कर्मचारीसहित १२ दशमलव ३३ प्रतिशत शेयर जारी गर्नेछ ।
हाल संस्थापकतर्फ ७९ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ९ करोड ५० लाख पुग्नेछ ।
कम्पनीले कास्की जिल्लामा ११ दशमलव ८८ मेगावाट क्षमताको नामार्जुन मादी जलविद्युत् आयोजना निर्माण गरी २०७७ साल असोज १२ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।