काठमाडौं (अस) । एमभी दुगड गु्रपले कम्पनीका अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्मोत्सव विभिन्न सामाजिक गतिविधिका कार्यक्रम गरी मनाएको छ । कोरोना महामारीलाई लक्षित गरी रगत अभावको समस्यालाई ध्यानमा राखेर बृहत् रक्तदान सञ्चालन गरिएको कम्पनीले बताएको छ ।
कम्पनीका कर्मचारीको सहभागितामा गरिएको रक्तदानमा देशभरका शाखाबाट ६६६ युनिट रगत संकलन गरिएको छ । कम्पनीको आयोजनामा सोलुखुम्बु र रामेछापमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
पुस १८ देखि २३ गतेसम्म सञ्चालन गरिएको शिविर सोलुखुम्बु र रामेछापको गोकुलगंगा, रस्नालु, प्रिती उमाकुण्ड, भण्डार हस्पिटल, गुम्देल हेल्थपोस्ट, चौलाखर्क हस्पिटल र कम्पनीको हाइड्रो डिभिजन, किन्जा सिटी हाउजिङ गरी विभिन्न ६ स्थानमा सञ्चालन गरिएको थियो । शिविरमा ९५० जनाले आँखा जाँच गरेका थिए । तीमध्ये ६० जनाको मोतियाबिन्दु र ३ जनाको आँखामा मासु पलाएकाको सफल शल्यक्रिया गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीका कर्मचारीले देशव्यापी बृहत् वृक्षरोपण कार्यक्रम सञ्चालन गरेका थिए । उक्त अवसरमा २७३५ वटा आँप, केरा, लिची, अम्बा, अमला, असोका, तेजपत्ता, निम, पीपल, कपुर, मेवा, धुपी, मलेसियन साल, अनार, सरिफा, रुद्राक्ष, सपाटुलगायत बोटबिरुवा विभिन्न सार्वजनिक स्थल, स्कुल, मन्दिर परिसर, काठमाडौं र हेटौंडा औद्योगिक क्षेत्र परिसर, डोलेश्वर महादेव र एमभी दुगडका शाखामा वृक्षारोपण गरिएको थियो ।
कम्पनीले वीरगन्जमा अवस्थित मानव सेवा आश्रमका ६४ वृद्धालाई खाना खुवाइएको बताएको छ । कम्पनीका उपाध्यक्ष विवेक दुगडले आफ्ना बुबाको जन्मोत्सव अवसर पारेरै उच्च शिक्षा अध्ययन पूरा गर्न आर्थिक अवस्था कमजोर रहेका २५ विद्यार्थीलाई छात्रावृत्ति घोषणा गरेका छन् ।