विराटनगर (अस) । मोरङको विराटनगर र कटहरी गाउँपालिका जोड्ने सिंघिया खोलाको पुल जीर्ण बन्दा कटरीका उद्योगलाई समस्या भएको छ । उद्योगका कच्चापदार्थ र उत्पादित सामग्री बोकेका ४० टनसम्म भारका ट्रक आवतजावतमा जीर्ण पुलका कारण जोखिम भएको भन्दै उद्योगीले पुल निर्माणका लागि पहल गरिदिन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।
मंगलवार मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको अध्यक्षतामा गएको टोलीले प्रमुख जिल्ला अधिकारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पुल निर्माणको पहल गरिदिन ज्ञापनपत्र बुझाएका हुन् । कुनै पनि निकायले पुल निर्माणको जिम्मा नलिएकाले आफूहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष मुन्दडाले बताए ।
दैनिक हजारौं टन सामग्री लिएर जीर्ण पुलबाट आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै उनले दुर्घटना भइहाले कटहरी क्षेत्रमा रहेका उद्योग बन्द हुने र हजारौंले रोजगारी गुमाउनुपर्ने अवस्था आउने उनले बताए । यसबारे आफूहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उनको भनाइ छ । मोरङको कटहरीमा ठूला साना गरी १५० उद्योग छन । ती उद्योगका कच्चापदार्थ र तयारी वस्तु बोकेका ५०० भन्दा बढी गाडी दैनिक सिंघिया पुल हुँदै आवजजावत गर्छन् । तर पुल पुरानो र जीर्ण बनेकाले जुनकुनै बेला भत्कने खतरा रहेको छ ।