अर्थ मन्त्री शर्माले ओलीलाई दिए 'विदेशी पानी खाएर हुर्किएका नागरिक' को संज्ञा

अर्थ मन्त्री जनार्दन शर्माले नेकपा एमालेका अध्यक्ष केपीओलीलाई 'विदेशी पानी खाएर हुर्किएका नागरिक' को संज्ञा दिएका छन्। अर्थ मन्त्रालयले अर्थतन्त्रको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मलेनमा उनले ओलीको नाम नलिई ओलीलाई इंगित  गर्दै विदेशी पानी खाएर हुर्किएका केही नागरिकले अर्थतन्त्रबारे अफवाह फैलाएको बताए ।उनले भने ' ‘विदेशी पानी खाएर हुर्किएका केही नागरिकको कुरा सुन्ने हो भने वृद्ध भत्ता पनि दिन नसक्ने भन्न सकिन्छ । तर  सबै भुक्तानी दिने सुनिश्चितता गरेका छौं , जुन दिन चाहिन्छ, त्यही दिन दिने ब्यबस्था गरेका छौ।’ओलीले सरकारले वृद्धभत्तासमेत दिन नसक्ने दिन आउने दाबी गरेका थिए । उनलाई नै जवाफ दिदै अर्थमन्त्री शर्माले  सबै भुक्तानी दिने सुनिश्चितता गरेको बताएका हुन् ।शर्माले ओलीलाई देशको अर्थतन्त्रको विषयमा राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।  उनले अर्थतन्त्रको अवस्था भयावह नभएकोले यस विषयमा राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।उनले अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था नरहेको दाबी गरे । यद्यपि सतर्क भने रहनु पर्ने उनले बताए । उनले  विभिन्न निर्णयहरु  मन्त्रिपरिषदमा प्रस्ताव गरेको जानकारी दिए । उनले सार्वजनिक विदाको दिन सरकारी गाडी प्रयोग नगर्ने, इन्धन खपत घटाउने , सातामा २ दिन सार्वजनिक विदा दिने, रेमिट्यान्स पठाउनेलाई आईपिओ र एफपिओमा आरक्षण दिने लगायतका प्रस्ताव  मन्त्रिपरिषदमा लागिएको जानकारी दिए । उनले  देश श्रीलंका बन्छ भन्नु अफवाह भएको पनि उल्लेख गरेका छन् । उनले श्रीलंका बनाउन किन चासो भइरहेको छ भन्नेबारे आफुलाई अचम्म लागेको बताए।  ओलीले देश श्रीलंका जस्तो हुन लागेको पनि उल्लेख गरिएका थिए ।पछिल्लो समय ओली र अर्थमन्त्री शर्माबीच सार्वजनिक रुपमा नै घोचपेच हुन थालेको छ । ओलीले केहि दिन अघि शर्मालाई इंगित गर्दै उनको नाम नलिई मुखभरी रौ भएको मुसोले अर्थतन्त्र बर्बाद पारेको तर त्यसको कारवाही भने गभर्नरलाई गरिएको बताएका थिए ।