अर्थ ज्ञान : के हो बजेट घाटा ?

सामान्यतः सरकारको आम्दानीले धान्न नसक्ने खर्च नै घाटा हो । सरकारको राजस्वले धान्न नसक्ने खर्चको आकारलाई बजेट घाटा भनिन्छ । नेपालमा वैदेशिक अनुदान पनि पछि फिर्ता गर्नुनपर्ने भएकाले अनुदानलाई पनि राजस्वकै हिस्सा...

सम्बन्धित सामग्री

झूट, सफेद झूट र तथ्यांकगर्दी

भारतमा उहिले एक नामुद तथ्यांकशास्त्री थिए रे । कसैले तथ्यांकको विश्लेषण गरी दिनुपर्‍यो भने सोध्ने गर्थे रे ‘कैसा एनालिसिस चाहिए, रुलिङ वाला कि आपोजिसन वाला’ भनेर । उनले तथ्यांकलाई नबिगारीकन निष्कर्ष भने पूरै उल्टासुल्टा बनाइदिने ३२ ओटा ट्रिक पत्ता लगाएका थिए रे । हाम्रा सरकारी तथ्यांक र विपक्षका तथ्यांक हेर्दा त हाम्रो देशमा ६४ ट्रिक जान्ने तथ्यांकशास्त्री पो छन् कि जस्तो लाग्न थाल्या छ । देशमा ९० प्रतिशत जनतामा बिजुली पुगिसक्यो भन्छ सरकार । त्यसैले बढी उत्पादन भएमा अब बिजुली खेर जान्छ भन्छन् । तर यता बिजुली पाइएन भनेर रुनेहरू धेरै छन् । अनि कुन चैं कुरा पत्याउने ? कसको चैं कुरा सही भनेर बुझ्ने ? सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्‍यो र आर्थिक परिसूचकहरू सकारात्मक नै रहेको बतायो । तर जब जब मेरा नजर अखवारका पानाहरूमा पर्छन्, तब जताततै घाटैघाटाका समाचारहरू मात्र देख्छु । बजेट घाटा, शोधनान्तर घाटा, व्यापार घाटा आदि । अनि उद्योग कलकारखाना टाटा, विदेशी लगानी टाटा, युवा प्रतिभा टाटा । अनि हिसाब नजानेर म चाहिँ वाल्ल ! अनि यो सरकारले प्रस्तुत गर्ने हरेक तथ्यांकमा जीडीपी भनेको कुल गार्हस्थ्य उत्पादन नभई ‘जबरजस्र्ती डेटा पस्किएको’ भन्ने अर्थ निकाल्छु । किनकि यहाँ हरेक क्षेत्रमा देश घाटैघाटामा मात्र गएको देखिन्छ । यसले गर्दा सरकारले प्रस्तुत गर्ने तथ्यांक र प्राविधिक शब्दहरूको अर्थ नै उल्टोपाल्टो पो देख्छु म त ! डेटा उही, फेटा उही अनि व्याख्या चाहिँ ठ्याक्कै उल्टो किन र कसरी होला ? सरकारी तथ्यांकले प्रस्तुत गर्ने विभिन्न घाटाहरूले आफ्नो जिन्दगीका घाटाहरूतर्फ इंगित गरिरहेको जस्तो पनि लाग्छ । यता विभिन्न करहरूका दरहरू सम्झन्छु, आफ्नो पारिवारिक बजेट सम्झन्छु, बैंकलाई तिर्नुपर्ने विविध ईएमआई सम्झन्छु, अनि यी समाचारहरू मलाई नै ‘टर्चर’ गर्न लेखिएका हुन् कि भन्ने लाग्छ । तर जिन्दगीलाई अघि पनि बढाउनु नै छ । अनि आर्थिक पखाला लागे पनि सन्तुलन मिलाउँदै जिन्दगीको शंख फुक्दै हिँडि नै रहेको छु । फेरि कहिलेकाहीँ लाग्छ, यो बजेटीय संसार खुब बुद्धिमान् छ, चंख, चलाख छ, जो आफ्नो बजेट राम्रैसँग व्यवस्थापन गरिरहेकै छ । केवल म मात्र एक पटमूर्ख छु यो दुनियाँमा, जोसँग न बजेट व्यवस्थापनबारे केही ढंग छ, न त बजेट वा नाफासँग सम्बन्धित प्राविधिक शब्दहरूबारे नै केही ज्ञान छ । जस्तै, सरकार आयकर आयकर भन्छ । आयकरलाई सरकारले आफैले कमाएको आफ्नै आम्दानी ठान्छ । जनता भने आयकर भनेको सरकारी हाकिमहरू आए अनि केही दिनुको साटो बरु सित्तैमा जनताको रोकडा चैं लिएर गए भन्ने बुझ्छन् । आय भनेसि आउनुपर्ने हो, तर यहाँ त आफ्नो खल्तीबाट जान्छ । त्यस्तै अर्को शब्द छ, अन्तःशुल्क । यो नामले अन्तै अरूलाई लाग्नुपर्ने कर हो कि भन्ने देखिन्छ, तर उत्पादनहरू उत्पादन गर्नेलाई पो लाग्दो रहेछ र उनीहरूले पनि हामी उपभोक्ताबाट असुली गर्दा रहेछन् । मलाई सबैभन्दा अचम्म यो लाग्छ कि तथ्यांकहरूको जंगलमा सूचकांकहरू किन यति धेरै उछलकुद गर्छन् वा किन यति धेरै माथि उक्लने र तल झर्ने गरिरहन्छन् ? शेयर बजारको समाचार हेर्छु । बजार यतिले बढ्यो र उतिले बढ्यो भन्छन् । तर शेयर विज्ञहरू नेप्सेको सिस्टम नै गलत छ भन्छन् । अब कसको कुरा पत्याउने ? शेयर बजारमा किन एकैचोटि स्वाट्टै रातो र केही दिनमै फेरि हरियो रंग परिवर्तन भइरहन्छ ? यो कुरा मैले अहिलेसम्म बुझ्न सकेको छैन । कहिले बुलिश कहिले बियर मार्केट रे । आफू त फुलिस मार्केट मात्रै देख्छु । अझ आफूलाई त मदिरावाला बियर मार्केट मात्र थाहा छ, जो नेपालमा सधैं गुल्जार छ । यो सरकार आउनेबित्तिकै देशमा ७/८ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भन्थ्यो । तर न लगानी बढ्यो, न त उत्पादन गर्ने प्रविधिमा केही परिवर्तन । अनि वृद्धि चाहिँ कसरी हुने रछ ? तर बजेटको अर्धवार्षिक समीक्षामा पनि आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुन्छ भनेर ठोकुवा भयो । होइन, कुन जादू हो यो ? तथ्यांकमा जादू गरेर हो कि काममै जादू गरेर होला ? कि सरकारवालाहरूको मात्र आर्थिक वृद्धिदर दोहोरो तेहोरो अंकमा बढेको कुरा गरेको हो कि ? अर्को उदाहरण हेरौं है । देशमा ९० प्रतिशत जनतामा बिजुली पुगिसक्यो भन्छ सरकार । त्यसैले बढी उत्पादन भएमा अब बिजुली खेर जान्छ भन्छन् । तर यता बिजुली पाइएन भनेर रुनेहरू धेरै छन् । अनि कुन चैं कुरा पत्याउने ? कसको चैं कुरा सही भनेर बुझ्ने ? यो तथ्यांक हो कि मिथ्यांक हो ? झूट तीन प्रकारका हुन्छ भन्छन् ‘झूट, सफेद झूठ र तथ्यांक’ । त्यसमध्ये के यो झूट मात्र हो ? कि यो सफेद झूट हो वा तथ्यांक हो ? जर्ज अर्वेलको प्रसिद्ध उपन्यास एनिमल फार्ममा त्यहाँ सरकारका एक मन्त्रीले हरेक वर्ष विभिन्न परिसूचकहरूमा थुप्रै कुरा राम्रो भयो वा बढ्यो भनेर बखान गर्छन् । जब कि सर्वसाधारण जनावरहरूको अनुभव भने ठ्याक्कै उल्टो । ठीक त्यसैगरी हाम्रो सरकारको बजेटमा पनि लगानी र खर्च बढेकै देखिन्छ । यसो हेर्दा सबै क्षेत्रमा बढेको वा प्रगति भएको पनि देखिन्छ । तर जनतालाई सोध्यो केही बढेको छैन भन्छन् । पोहोर परार भन्दा जनताको जीवन पनि झन् कष्टकर भएर गएको हुन्छ । महँगीले ढाडै सेकिसकेको हुन्छ । तर यो कष्टको कुरा कुनै तथ्यांकमा कतै आउँदैन । तथ्यांकमा त सबै कुरा बढेको मात्रै देखिन्छ । अहिले यहाँ पनि ठीक त्यस्तै स्थिति देखिन्छ । जस्तै, धानको उत्पादन बढ्या बढ्यै छ । यता १० वर्षअघि भन्दा धान आयात पनि बढेकै देखिन्छ । यता जनसंख्या चैं बढ्या देखिन्न । काहाँ गयो त बढी आएको त्यत्रो धान ? त्यस्तै, तथ्यांकमा त सबै कुरा बढेको मात्रै देखिन्छ अनि महँगी बढेको चाहिँ किन नदेखिएको होला ? मैले यो पनि बुझ्न सकिरहेको छैन कि यी तथ्यांकहरूलाई सरकारले यति धेरै उड्न लगाएर कुन चैं आकाश छुनलाई हो ? फेरि तल झर्दा वा झार्दा कुन चैं खाडलमा कसलाई हाल्नलाई भनेर हो ? यी तथ्यांकशास्त्रीहरू, सरकारी हाकिमहरू टन्न खाएर कुद्छन् कि भोको पेट हँ ? डनगिरी, गुण्डागर्दी त थाहा थियो, तर यो तथ्यांकगर्दी चैं थाहा थिएन र अहिले पनि थाहा पाउन सकिएन । त्यसैले अखवारहरू लेखिरहून् । टिभीहरू फुकिरहून् । तर यो सरकारी बजेट, सरकारले प्रयोग गर्ने प्राविधिक शब्दहरू र सूचकांहरू भने कहिल्यै बुझ्न नसक्ने भइयो बा ! सरकारले बेला बेलामा देखाइरहने विभिन्न तथ्यांकहरू के तपाईंले बुझ्नभा छ त ? कि म मात्र ह्याँ पटमूर्ख हो हँ ?