काठमाडौं । ‘विश्व लगानी सप्ताह २०२३’ को अवसरमा कुमारी क्यापिटलले विशेष लगानीकर्ता सचेतना कार्यक्रम गरेको छ । क्यापिटलले स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्य र कुमारी क्यापिटलका मर्चेन्ट बैंकिङका प्रमुख सविन बुढाथोकी सहभागी रहेको क्यापिटलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पाल्पाको तानसेनमा बसोबास गर्ने स्थानीय लगानीकर्तालाई सेयर बजारमा सहभागिता जनाउन र लगानीसम्बन्धी जानकारीका निर्णय गर्नका सम्भावित फाइदाबारे जानकारी गराउने उद्देश्यले पाल्पास्थित कुमारी बैंक, पाल्पा, तानसेन शाखासँगको सहकार्यमा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
सेबोनका वसन्त रसालीले आफ्नो सम्बोधनमा नियामक अनुपालन र जिम्मेवार लगानीको महत्त्वमा जोड दिए ।
कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्यले सेयर बजारको लगानी रणनीतिसँगै धितोपत्रमा लगानी गर्दा हुने दीर्घकालीन फाइदाहरूबारे चर्चा गरे । उनले सफल लगानी पोर्टफोलियो निर्माणमा अनुसन्धान, जोखिम व्यवस्थापन र विविधीकरणको महत्त्वलाई प्रकाश पारे ।