बैशाख ४, काठमाडौं । काठमाडौं, टोखाकी विमला खनाल स्वेटर बुन्न भनेपछि सानैदेखि हुरुक्क हुने । उनको बाल्यकालको फुर्सद स्वेटर बुन्न जान्ने व्यक्ति खोज्ने र सिक्ने गर्दैमा बित्यो भन्दा पनि हुन्छ । सिलाइबुनाइप्रतिको त्यही लगावले उनलाई एक दशककै अवधिमा सफल उद्यमी तथा प्रशिक्षकको रूपमा स्थापित गराएको छ । अहिले उनी हस्तकला उद्यमी तथा प्रशिक्षकको रूपमा परिचित छिन् ।
उद्यम यात्राको कथा सुनाउने क्रममा बिमला भन्छिन्, ‘एसएलसी सकिएपछि उच्चशिक्षासँगै व्यक्तिगत रुचिका काममै ध्यान दिएँ । वाणिज्यशास्त्रमा स्नातक सकेपछि उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिन सकिनँ । यहीबीचमा बिहे भयो ।’
बिहेपछि स्वाभाविक रूपमा पारिवारिक जिम्मेवारी थपियो । तैपनि, आफैले केही गर्नुपर्छ भन्ने हुटहुटीले छाडेन । त्यही बेला ५ सय रुपैयाँमा आधा किलो ऊन किनेर छोरीका लागि एउटा टप्स बुनिन् । त्यो टप्स यति राम्रो बन्यो कि त्यसको प्रशंसा नगर्ने कोही भएन । उक्त टप्स छोरीलाई आफ्नै हातले तयार गरिदिएको उपहारमात्रै बनेन, विमलाको जीवनको टर्निङ प्वाइन्ट नै सावित भयो ।
‘त्यो टप्सको धेरैले प्रशंसा गरे । त्यसले मलाई अझ बढी प्रेरणा मिल्यो, र बुन्ने कामलाई निरन्तरता दिएँ,’ विमला भन्छिन्, ‘यस्ता कामप्रतिको मेरो लगाव, मोह र नतीजा देखेर एकजना दाइले उद्योग दर्ता गरेर व्यावसायिक रूपमै काम गर्न सल्लाह दिनुभयो ।’ त्यसपछि घरेलुबाटै उद्यमशीलताको तालीम लिएर घरैमा चिटिक्क होजियारी उद्योग शुरू गरेको उनले बताइन् ।
१० वर्षअघि उनले स्थापना गरेको उद्योगले माला, पोते, ऊनी स्वेटर, बच्चाका कपडा, कागजका सामान, पापड, सालको पातको टपरी लगायत सामान तयार गरिरहेको छ । उद्योगबाट उत्पादित सामान विमला विभिन्न मेला, महोत्सवमा स्टल राखेर विक्री गर्छिन् । कतिपय सामान विदेश जाने मान्छेले आफन्तलाई उपहारको रूपमा लैजान्छन् ।
स्वदेशी वस्तुको प्रयोगमा गर्व गरौं, हामी बनाऔं, हामीनै किनौं, सृजनशील बनौं, सृजनशीलताको विकास गरौं, देशलाई समृद्ध बनाऔं भन्ने मन्त्र लिएर अघि बढ्दा सफल भएको उनको अनुभव छ । काम सानो–ठूलो हुँदैन भनेर अघि बढेकाले सफलता मिलेको उनको विश्वास छ । हेर्दा काम सानो देखिए पनि उनले यसबाट घरको सम्पूर्ण खर्च धानेकी छिन् । समाजमा उदाहरणीय महिला उद्यमीको रूपमा चिनिएकी छन् ।
पछिल्लो समय उनको यात्रा वस्तु उत्पादनबाट प्रशिक्षणसम्म पुगेको छ । छिमेक, टोलदेखि काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, काभ्रे, सुर्खेत, धनगढी लगायत एक दर्जनभन्दा बढी जिल्लामा उनी अचार बनाउनेदेखि कागज, प्लास्टिक र पुराना सिसाका बोतल आदिबाट सजावटका सामग्री बनाउने शीप र नेतृत्व विकासको तालीम दिन प्रशिक्षकको रूपमा जाने गर्छिन् ।
उद्यम शुरू गरेको १० वर्षभित्र विभिन्न जिल्लाका ३/४ सय महिलालाई तालीम दिएको बिमलाले सुनाइन् । तालीम लिएकामध्ये अधिकांश महिला अहिले उनी जस्तै उद्यमी बनेर आफ्नो खुट्टामा उभिएका छन् । त्यो देख्दा उनलाई जीवन सार्थक भएको अनुभूति हुन्छ । ‘मलाई मेरो पेशाले दिएको सन्तुष्टि आफ्नै ठाउँमा छ,’ उनी भन्छिन्, ‘मसँग तालीम लिएका महिला आफ्नै खुट्टामा उभिएको देख्दा गर्वको अनुभूति हुन्छ । आफ्नो र परिवारको लागि मात्र नभएर समाज र देशका लागि पनि केही योगदान गरेछु जस्तो लाग्छ ।’
केही गर्ने हुटहुटी, मेहनत र इमान्दार प्रयासले उनलाई सरकारले सफल उद्यमी महिलालाई प्रदान गर्ने पुरस्कार पनि दिलाएको छ । कोरोना महामारीपछि भने उनको व्यवसाय केही सुस्ताएको छ । तर, व्यस्ततामा खासै कमी नभएको उनले बताइन् । अचेल अनलाइनमार्फत बेलायती बालबालिकालाई सालको पातको टपरी बनाउने तालीम दिइरहेको बिमलाले जानकारी दिइन् । यो काममा उनलाई ग्यालेक्सी पब्लिक स्कुलले सहयोग गरिरहेको छ ।