काठमाडौं । होटल संघ नेपाल (हान)को प्रतिनिधिमण्डलले मंगलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेको छ । हान अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले अर्थमन्त्री डा. महतसँग भेटी ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष राणाले कोभिड–१९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायी व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको जानकारी गराएकी थिइन् ।
कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभए तापनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको उनको भनाइ थियो । धेरै लगानी भएको, वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत र धेरै रोजगारी सृजना गर्ने होटल उद्योगलाई कानूनमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा समावेश गर्न व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका थिए ।
बैंकको बढ्दो ब्याजदर अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकुल देखिएकाले यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाइदिनुपर्ने उनीहरूको माग थियो । होटल उद्योगले हालको अवस्थामा बैंकलाई साँवा र व्याज बुझाउन सक्षम नरहेकाले तोकिएको समयसीमा बढाई थप सहजीकरणका लागि व्यवसायीले अनुरोध गरेका थिए । पुनर्तालिकीकरण र पुनर्कर्जा सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्थाका लागि व्यवसायीले आग्रह गरेका थिए ।