राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको कुरा सुन्न छोडेको बताएका छन् । गभर्नर अधिकारी सरकार र अर्थ मन्त्रालय मातहत हो कि कसको भन्ने प्रश्न सांसद ढकालले गरे । प्रतिनिधिसभाको मंगलवारको बैठकमा सांसद ढकालले राष्ट्र बैंकका गभर्नरलगायत नियामक निकायहरूलाई राज्यको नियन्त्रणमा राख्नुपर्ने बताए । राष्ट्र बैंकको गलत नीतिका कारण पूँजी बजारका लगानीकर्ताले महीनामै खर्बौं रकम गुमाइरहेको उनको भनाइ छ ।
उनले भने, ‘अर्थमन्त्री भन्नुहुन्छ– मैले भन्या गभर्नरले टेर्नुहुन्न । कसले चलाउने हो गभर्नर ? गज्जब छ यो । कसले हो नियामक निकाय चलाउने, अर्थ मन्त्रालयले हो कि राष्ट्र बैंकले ? को हो ठूलो ?’
मुलुक आर्थिक मन्दीमा गइरहेको तर अर्थ मन्त्रालय र राष्ट्र बैंकले त्यसतर्फ ध्यान नदिएको सांसद ढकालको भनाइ छ । ‘देशको आर्थिक अवस्थाबारे सदनमा विभिन्न समयमा सांसदहरूले आवाज उठाइरहेका छन् । आर्थिक मन्दीमा जाँदै छ भनेर सुझाव अर्थ मन्त्रालयमा दिँदा सुनुवाइ हुने गरेको छैन । नियामक निकायहरूले सुन्ने गरेका छैनन्,’ उनले भने, ‘लगानीयोग्य रकम प्रशस्त छ, लगानी हुन सकेको छैन । बैंकहरूको अस्वस्थ प्रतिस्पर्धा र राष्ट्र बैंकको गलत नीतिले लगानी हुन सकेको छैन ।’
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शेयरबजारमा लगाएको १२ करोडको ‘क्याप’को प्रसंग उठाएको तर त्यो गभर्नर महाप्रसाद अधिकारीले गरेको नबताएको सांसद ढकालले बताए ।
धितोपत्र बोर्ड, राष्ट्र बैंकलगायत नियामक निकायमा प्रदूषित राजनीतिबाट नियुक्ति लिएकाहरूले अर्थतन्त्र कमजोर पारिरहेको ढकालको भनाइ थियो । ती निकायमा नियुक्ति लिनेहरूले जसले नियुक्त गरेको हो उनीहरूकै पक्षमा निर्णय गरेर अर्थतन्त्रमा आँच पुर्याइरहेको भन्दै सांसद ढकालले नियामकहरूलाई राज्यको नियन्त्रणमा राख्नुपर्ने सुझाए ।
राष्ट्र बैंकको गलत नीतिका कारण राज्यलाई १ महीनामै अर्बाैं राजस्व बुझाउने पूँजी बजार धराशयी भइरहेको सांसद ढकालको भनाइ छ ।