मंसिर १४, पेचिङ (चीन) । चीनको कारखाना गतिविधि नोभेम्बरमा अनपेक्षित रुपमा बढेको छ । कच्चा सामग्रीको भाउ घटेपछि न्यून मागको चपेटामा परेको कारखाना क्षेत्रमाथिको दबाब कम हुँदा तीन महीनामा पहिलो पटक गतिविधि बढेको हो ।
राष्ट्रिय तथ्यांक विभागका अनुसार म्यानुफयाक्चरिङ क्षेत्रको पर्चेजिङ म्यानेर्ज इन्डेक्स (पीएमआई) ५० दशमलव १ अंक रहेको छ । अक्टोबरमा यो सूचक ४९ दशमलव २ अंक थियो । यसले चीनको कारखाना क्षेत्रमा वृद्धि भइरहेको देखाएको छ ।
समीक्षा अवधिमा पीएमाई ४९ दशमलव ६ अंक रहने विश्लेषकहरुको अनुमान थियो । म्यानुफयाक्चरिङ क्षेत्रमा देखिएको सुस्ती, घर जग्गा बजारमा कर्जा समस्या र कोभिड–१९ को प्रकोपका कारण यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा चीनको अर्थतन्त्रले लय गुमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा अघिल्लो त्रैमासमा ४ दशमलव ८ प्रतिशतले अर्थतन्त्र बढेको थियो ।
तर, चौथो त्रैमासमा भने वृद्धिको दर तेस्रो त्रैमासभन्दा सुस्त रहने विश्लेषकहरुको अनुमान छ । अक्टोबरमा ४८ दशमलव ४ अंक रहेको उत्पादनको उपसूचक पनि नोभेम्बरमा बढेर ५२ अंकमा उक्लिएको छ । नयाँ अर्डर सुस्त गतिमा घटेको छ । अघिल्लो महीना ७२ दशमलव १ अंक रहेको उत्पादन मूल्य नोभेम्बरमा उल्लेख्य रुपमा घटेर ५२ दशमलव ९ अंकमा आएको छ । एजेन्सी