नेपाल–भारत सीमाको दशगजामा कडाइ

बाँके । बाँकेस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा कडाइ गरिएको छ । निर्वाचन नजिकिँदै जाँदा नाकाबाट अवैध हातहतियार भित्रिन सक्ने भन्दै कडाइ गरिएको हो । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध हतियार भित्रिएर निर्वाचन प्रभावित हुन सक्ने सम्भावना रहेकाले कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । अहिले जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको संयुक्त सुरक्षा गस्तीसमेत शुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । उनले सीमा क्षेत्रमा नेपाल र भारतको अब बस्ने संयुक्त सुरक्षा अधिकारीहरूको बैठकले नाकाका विषयमा ठोस निर्णय लिने पनि बताए । बैठकले निर्वाचनलाई ध्यानमा राखेर नेपालगञ्जको मुख्य नाका ७२ घण्टाका लागि पूर्णरूपमा बन्द हुनेलगायतका निर्णय हुने बताइएको छ । रासस