वैशाख ५, जिल्लाको तीन स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा गरिएको छ । शनिवारदेखि थुलुङ दुधकोशी गाउँपालिका पनि साक्षर गाउँपालिका बनेको छ । गाउँपालिका केन्द्र मुक्लीमा आयोजित कार्यक्रममा गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको प्रवक्ता भुपाल सिं राईले जानकारी दिए ।
१६ वर्षदेखि ६० वर्ष उमेर समूहका ९१६ निरक्षरलाई साक्षर बनाउनका लागि गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रममा ९०२ जना सहभागी भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । यसरी हेर्दा ९८ दशमलव ५ प्रतिशत थुलुङदुधकोशीबासी साक्षर बनेका छन् ।
अभियान सञ्चालनका लागि शिक्षक, स्थानीय नागरिक, विद्यार्थी र जनप्रतिनिधिले महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष राईले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
थुलुङ दुधकोशीमा २०६८ सालको जनगणनामा १९ हजार ६७२ जनसंख्या रहेकोमा पालिकाको वस्तुगत विवरण २०७७ अनुसार २२ हजार ३७५ जनसंख्या रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
यस्तै गएको मंगलवार मात्रै जिल्लाको नेचा सल्यानलाई पनि साक्षर गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीका अनुसार कुल १५ हजार ५२६ जनसंख्यामध्ये ९७ प्रतिशत साक्षर भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको हो । साक्षर गाउँपालिका घोषणा गर्ने नेचासल्यान पहिलो गाउँपालिका बनेको हो ।
त्यसैगरी, बिहीवार जिल्लाको एक मात्र सोलुदुधकुण्ड नगरपालिकालाई पनि साक्षर नगरपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा संक्लन गरिएको तथ्यांक्अनुसार सोलुदुधकुण्ड नगरपालिकाको कुल जनसंख्या २४ हजार ३२३ मध्ये ९६ दशमलव ५२ प्रतिशत साक्षर रहेको बताइएको छ ।
नेपालको नीतिअनुसार ५ प्रतिशत नागरिक निरक्षर हुँदा पनि साक्षर स्थानीय तह घोषणा गर्न सकिन्छ । जिल्लाको स्थानीय तहका अनुसार साक्षरता बढाउनका लागि टोल बस्तीमा कार्यक्रमसमेत सञ्चालन गरिएको छ । रासस