नेपालको अर्थतन्त्र विप्रेषणका कारण सहज भइरहेको छ । आयात र निर्यातको अनुपातमा निकै अन्तर रहेकाले वैदेशिक व्यापारघाटा चुलिँदो छ । व्यापारघाटा कम गर्न वस्तु तथा सेवा निर्यात बढाउनुको विकल्प देखिँदैन । तर, नेपालमा औद्योगिक वातावरण नबन्दा मुलुकका लागि आवश्यक वस्तु सबै आयात नै गर्नुपर्ने बाध्यता छ । कृषिप्रधान मुलुकमा कृषियोग्य जमीन बाँझो बन्दै छ भने खाद्यान्न आयात बढ्दो छ । सरकारका लागि विदेशी मुद्रा सञ्चिति सधैं चिन्ताको विषय बनेको छ । विप्रेषण नआउने हो भने विदेशी मुद्राको अभाव नै हुन बेर लाग्दैन । यस्तोमा विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण माध्यम पर्यटन व्यवसाय सरकारको उच्च प्राथमिकतामा पर्ने हो । पूर्वाधारमा ठूलो लगानी, पर्यटन व्यवसायीलाई प्रोत्साहन र प्रचारप्रसारका लागि उपयुक्त रणनीति यसका लागि आवश्यक पर्छ । मूलतः सही पर्यटन नीति आवश्यक पर्छ । तर, सरकारले आफैले बनाएको पर्यटन नीतिअनुसार काम गर्न सकेको छैन । तैपनि पर्यटन व्यवसायीहरूले मुलुकमा लाखौं रोजगारी सृजना गरेका छन् । उनीहरूलाई विभिन्न छूट र सुविधा दिएर प्रोत्साहन गर्न सरकार चुकिरहेको छ ।
अहिले कोरोनाका कारण पर्यटन व्यवसाय ठप्प छ । यो माथि उठ्न कति समय लाग्ने हो अत्तोपत्तो छैन । सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटनलाई मानेको छ र केही राहत तथा सुविधा दिएको छ । पुनर्कर्जा, पुनर्तालिकीकरणलगायत सुविधा त दिइएको छ । तर, व्यवसाय नै ठप्प भएको अवस्थामा राहतले मात्र यसलाई जोगाउन सक्ने देखिँदैन । सन् २०२० लाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने तयारी गरियो । पर्यटन व्यवसायी निकै उत्साहित भए । बैंकबाट ऋण लिँदै आफ्नो व्यवसायलाई थप फराकिलो बनाउन थाले । ऋण लिएर व्यवसाय फराकिलो बनाउनेमा पर्यटक यातायात व्यवसायी पनि हुन् । उनीहरूले पनि ‘पर्यटन वर्ष’ लाई लिएर लाखौं ऋण लिएर गाडी थपे । तर, ती गाडी चल्नै पाएनन् । अहिले व्यवसायीका लागि यही तयारी महँगो साबित भएको छ ।
विभिन्न अध्ययनले कोरोना तथा बन्दाबन्दीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र भनेर पर्यटनलाई मानेको छ । सरकारले पनि यही कुरा बारम्बार भनिरहेको पाइन्छ ।
पुनरुत्थानका लागि काम गर्ने आश्वासन पनि दिइरहेको छ । तर, सरकारले पर्यटन क्षेत्रको उत्थानका लागि ‘शब्द’ मा मात्र काम गरेको छ र व्यवहारमा उल्लेख्य राहत पुगेको छैन । पुनर्कर्जा, कर्जाको पुनःसंरचना तथा पुनर्तालिकीकरणजस्ता राहत केही व्यवसायीले पाएका छन् । तर, यस्तो सुविधाले कहिलेसम्म पर्यटन व्यवसायमा टिक्न सकिन्छ ? बैंकले ऋणको किस्ता तिर्न बारम्बार दबाब दिइरहेका हुन्छन् । राष्ट्र बैंकले बैंकहरूलाई करोडभन्दा कम ऋण आफै फाइनल गरेर दिन भनेको छ । बैंक र राष्ट्र बैंक एकअर्कालाई देखाएर व्यवसायीलाई झुलाइरहेका छन् । कतिपय व्यवसायीले आफ्नो जायजेथा बेचेर पनि ऋणको किस्ता तिरेको पाइन्छ । दशर्कौंदेखि गर्दै आएको व्यवसाय छाड्ने कुरा पनि आएन । यो व्यवसाय अहिले साँचीकै भन्नुपर्दा व्यवसायीका लागि भालुको कम्पट बनेको छ ।
व्यवसायीलाई मात्र होइन, पर्यटन क्षेत्रका कामदारलाई पनि त्यति नै मुश्किल भएको छ । पर्यटनमा व्यवसायमा आबद्ध लाखौं कामदार अहिले बेरोजगार भएका छन्, पेशा परिवर्तन गरेका छन् वा नाममात्रको तलब थापेर बसेका छन् । ती मजदूरप्रति कसैले चासो देखिँदैन । उनीहरूलाई पलायन हुनबाट रोक्न आवश्यक छ । यसका लागि सरकारलाई तिर्नुपर्ने ब्याज तथा विभिन्न कर छूट दिन आवश्यक छ ।
पर्यटन व्यवसाय ठप्प छ तर ग्यारेजमा थन्केर बसेको गाडीको जाँचपास तिर्नपर्छ तिरेन भने जरीवाना लाग्छ । बिजुलीको शुल्कमा छूट दिने भने पनि त्यो पाइएको छैन । मौद्रिक नीति तथा बजेटबाट सम्बोधन गर्नुपर्यो भनेको विषय पनि आंशिक मात्रै सुनाइ भएको छ । त्यो पनि केही टाडाबाठा र पहुँच पुगेका व्यक्तिहरूले मात्रै प्राप्त गरेको गतवर्षको अनुभव छ ।
अहिले केही व्यवसायीले कोरोनाविरुद्धको खोप पाइसकेका छन् । केही समयमा सबैले खोप पाउने सम्भावना बढेको छ । खोप पाएपछि पर्यटन व्यवसायलाई केही गति दिन सकिन्छ कि भन्ने आशा पनि छ तर त्यति सहज भने छैन । खासगरी बाह्य पर्यटकको आगमन हुने सम्भावना भने छँदै छैन भने हुन्छ । भ्याक्सिन लगाएका पर्यटकलाई पीसीआर रिपोर्टका आधारमा सहज प्रवेश दिनुपर्छ । अहिले भएका पूर्वाधारलाई जोगाउन पुग्ने गरी पर्यटक आउने सम्भावना तैपनि कम छैन । पर्यटकको भीड लागिरहने ठाउँहरूमा समेत अहिले पर्यटन ठप्प छ । नेपालजस्तो कोरोनाको हटस्पट बनेको क्षेत्रमा विदेशी पर्यटक आउने कल्पना गरिहाल्नु हतारो हुनेछ ।
त्यसमाथि पनि नेपालमा अहिले सबैभन्दा बढी लगाइएको खोप चिनियाँ भेरोसेल हो । यो खोप चीनकै नागरिकलाई प्रशस्त मात्रामा लगाइएको छैन भनेर अन्तरराष्ट्रिय समाचारहरूमा आइरहेका छन् । हुन पनि विश्वकै धेरै खोप उत्पादक र निर्यातक मुलुक भएर पनि चीनमा खोप लगाउनेको दर निकै कम छ । विश्वका धेरै मुलुकले चिनियाँ खोपलाई मान्यता दिएका पनि छैनन् । चिनिया खोप लगाएका मानिसलाई आफ्नो देशको भिसासमेत दिएका छैनन् । त्यसो त अन्य देशको भ्याक्सिनलाई चीनले पनि सीमा प्रवेशका लागि मान्यता दिएको छैन । चीनबाट पनि पर्यटक आगमन सम्भव छैन ।
त्यसैले पर्यटन क्षेत्र निकै कठिन मोडमा छ । यो अवस्था अझै एकाध वर्ष रहने निश्चित जस्तै छ । त्यसैले यो पेशाको भविष्यमा नै प्रश्न उठाउन थालिएको छ । नेपालले आन्तरिक पर्यटनबाट यस व्यवसायलाई जोगाउन सक्छ । तर, यसका लागि पनि १ वर्षभन्दा बढी पर्खनुपर्ने हुन्छ । जति नै घुम्न इच्छा भए पनि अहिले धेरैको आम्दानी घटेको छ, कतिपयको गुमेको छ । उनीहरू पर्यटनका लागि खर्च गर्न सक्ने अवस्थामा छैनन् । त्यसैले पर्यटन कसरी जोगाउने हो, त्यसका लागि सरकारले अलग नीति लिनुपर्छ ।
लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।