सुदूरपश्चिम प्रदेशको दार्चुलामा रहेको अपी हिमाल बेसक्याम्पसम्म पुग्ने ट्रेकिङ रूट सञ्चालनमा आएको छ । आवश्यक पूर्वाधारसहितको बेसक्याम्पसम्म पुग्ने ट्रेकिङ रुट पर्यटकहरुका लागि औपचारिक रुपमा खुलेको हो ।
काठमाडौं । विश्वकै लामो ट्रेलका रूपमा पहिचान गरिएको ‘ग्रेट हिमालय ट्रेल’को विकास तथा विस्तार सुस्त देखिएको छ । सरकारले २०११ मा घोषणा गरेको नेपाल भ्रमण वर्षको औपचारिक कार्यक्रमबाट ग्रेट हिमालय ट्रेलको विकास गर्ने बताएको थियो । घोषणाको १ दशकभन्दा बढी भइसक्दा समेत यो परियोजनामा सरकारले पर्याप्त बजेट दिन र योजना बनाउन सकेको छैन ।
यसका लागि बजेट विनियोजन थालेको २ वर्ष मात्रै भएको छ । यूकेएडको संस्था एसएनभी नेपालले ग्रेट हिमालय ट्रेलको विषयमा अध्ययन गरेर सरकारलाई सन् २०१४ मा प्रतिवेदन बुझाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘ट्रेल बजार प्लान २०११–२०१६’ सार्वजनिक गरेर पदयात्रा शुल्कसमेत तोके पनि ट्रेल विस्तारमा भने चासो दिएन ।
चालू आर्थिक वर्ष (आव) २०७९/८० मा भने यो ट्रेलका लागि बजेट बढाइएको छ । पर्यटन विभागका अनुसार यो परियोजनाका लागि आव २०७७/७८ देखि मात्रै बजेट विनियोजन भएको छ । पूर्वको कञ्चजंघादेखि सुदूरपश्चिमको अपी हिमालसम्मको १ हजार ७०० किलोमीटर लामो पदमार्ग विस्तारका लागि शुरू वर्षमा विभागले ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । ग्रेट हिमालय ट्रेललाई माथिल्लो र तल्लो गरेर २ खण्डमा विभाजन गरी काम भइरहेको छ ।
विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले विविध कारणले यो परियोजनाको काममा ढिलाइ देखिएको बताए । ‘माथिल्लो ट्रेलमा काम गर्न जटिलता देखिन्छ । चार हजार मीटरभन्दा माथिको उचाइमा काम गर्नुपर्ने भएकाले सोही किसिमको दक्ष जनशक्ति, सामान लैजान र ढुवानी महँगो हुन्छ,’ उनले भने, ‘राष्ट्रिय वन, निकुञ्ज तथा आरक्षजस्ता संवेदनशील क्षेत्र भएकाले काममा ढिलाइ देखिएको हो । काम नभएको भने होइन ।’
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा यो ट्रेलको बजारीकरण भइरहेको बताए । ‘यो ट्रेल एकैपटकमा यात्रा गर्नुपर्छ भन्ने छैन,’ बाँस्तोलाले भने, ‘यसलाई ४/५ पटकको प्याकेजमा पूरा गर्न सकिन्छ ।’ अहिले ग्रेट हिमालय ट्रेलको यात्रा गर्ने ‘ट्रेन्ड’ नै शुरू भइसकेको भन्दै उनले पटक–पटक गरेर यो ट्रेल पूरा गर्ने पर्यटक बढेको बताए ।
ट्राभल कम्पनीहरूबाट ट्रेलका विभिन्न खण्ड विक्री भइरहेको भन्दै उनले थपे, ‘अहिले स्थानीय सरकारबाट ट्रेकिङ ट्रेलको संरक्षणभन्दा पनि मास्ने क्रम बढेको छ ।’ स्थानीय सरकारले यस्ता ट्रेल जोगाएर काम गर्नुपर्ने उनको धारणा छ । वर्षौं लगाएर बजारीकरण गरेका ट्रेलहरूमा करोडौं रुपैयाँ खर्च गरिएको भन्दै उनले स्थानीय सरकारले बाटो नै मासिदिएपछि समस्या हुने बताए ।
रुबी भ्याली, मनासलु, पश्चिमको सिमकोटतर्फ ट्रेकिङ रूट मासिएको उदाहरण दिँदै उनले भने, ‘गाडीको बाटो हिँड्न विदेशी पर्यटक आउने कुरा भएन । केन्द्रीयस्तरबाटै सरकारले गोरेटो बाटोहरूका साथै पदमार्ग जोगाउने नीति लिनुपर्छ ।’
आफ्नै ट्रेकिङ कम्पनी एशिएन ट्रेकिङ क्लाइम्ब एक्स्पिडिशनबाट यो ट्रेलको पदयात्रा गराएका कम्पनीका अध्यक्ष आङछिरिङ शेर्पाले यो अवधिमा ट्रेलको प्रवर्द्धन हुनुपर्ने तर सरकारको त्यत्ति चासो नदेखिएको बताए ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाका अनुसार २० जनाको समूहले ९९ दिन लगाएर यो ट्रेलको यात्रा गरेको थियो । सरकारले ट्रेल विस्तार तथा पूर्वाधार विकासमा चासो दिनुपर्नेमा उनले जोड दिए । ‘बाटोघाटो व्यवसायीले बनाउने होइन,’ उनले भने, ‘तल्लो ट्रेलमा अस्पताल, सञ्चारको सुविधा छ भने छिट्टै उद्धार गर्न पनि सकिन्छ, तर माथिल्लोमा यस्ता सुविधा छैनन् ।’ प्रचारप्रसार र प्रवर्द्धनमा नेपाल पर्यटन बोर्डले समेत चासो नदिएको उनले बताए ।
ब्रान्ड बनिसकेको यो ट्रेलमा पदयात्राका लागि चासो आउने गरेको उनको भनाइ छ । ठूलो सम्भावना बोकेको परियोजना भए पनि कतिपय ट्रेकिङ कम्पनीलाई यसका विषयमा जानकारी नै नभएको शेर्पाले बताए ।
विभागका सिनियर डिभिजनल इन्जिनीयर सचिन्द्रकुमार यादवले आरोहणका लागि खुला गरिएका हिमालको बेस क्याम्पसम्म पुग्ने पदमार्ग बनाउने काम भइरहेको बताए । एसएनभी संस्थाले दिएको प्रतिवेदनअनुसार काम भइरहेको तर सरकारले यस विषयमा विस्तृत अध्ययन नगरेको उनको भनाइ छ । ‘परियोजनाका लागि डेडिकेटेड बजेट,’ छैन, ‘यादवले भने, ‘विभागलाई आएको बजेटबाट छुट्ट्याइने गरेको छ । चालू आवमा भने यो परियोजनाका लागि ३० करोड रुपैयाँ बजेट छ ।’
यो ट्रेलमा सुरक्षित र भरपर्दो यात्राका लागि पदमार्गबाहेकका अन्य महत्त्वपूर्ण संरचना पनि बन्नुपर्छ । खोंचहरूमा झोलुंगे पुल, उद्धार केन्द्र, हेलिप्याड, पोर्टर सेन्टर, सूचना पाटी, सञ्चारको पहुँचजस्ता संरचना बनाउनुपर्छ । यो परियोजना बुझ्नै केही वर्ष लागेको विभागका अधिकारी बताउँछन् ।
‘काममा ढिलाइ भएको होइन, सरकारले प्राथमिकतामा ल्याउन समय लाग्यो,’ इन्जिनीयर यादवले भने, ‘अहिलेको स्थितिमा तल्लो ट्रेलमा प्रतिकिलोमीटर २० देखि ३० लाख रुपैयाँ लगानी र माथिल्लोमा झोलुंगे पुल बनाउन, सामना ढुवानीलगायतमा बढी खर्चिलो हुने भएकाले यसको दोब्बर लगानी हुने अनुमान छ । विभागका अनुसार यो ट्रेलको १ हजार ७०० किलोमीटरमध्ये हालसम्म ४१७ किलोमीटर पदमार्ग बनेको छ ।
कञ्चनजंघा खण्डमा ४० र मकालु–बरुण खण्डमा ४८ किलोमीटर ट्रेल बनिसकेको छ । विभागले यही परियोजनाअन्तर्गत हिमालको बेस क्याम्पसम्म पदमार्ग बनाउने योजना अघि बढाएअनुसार विभिन्न खण्डमा काम भइरहेको यादवले बताए ।
च्छोरोल्पा–गणेश हिमाल, धवलागिरि, दामोदर कुण्ड, जुगल हिमाल, ठाडेपाटी–गोसाइँकुण्ड, मनासलुको रुबीनाला पास, सामागाउँ पास, बडीमालिका, जिरी सगरमाथा खण्ड, अपी हिमाल, डोल्पा खण्ड र रारा–सिंजा खण्डमा गरी त्यति किलोमीटर पदमार्ग बनेको विभागले जानकारी दिएको छ । हेलम्बु–लाङटाङ खण्डमा पनि ३० किलोमीटर पदमार्ग तयार भएको छ । नेपालमा पर्यटकको बसाइ अवधि र खर्च बढाउन यो ट्रेलले सघाउ पुर्याउने व्यवसायी बताउँछन् । तर, यसको प्रचारप्रसार र पूर्वाधार निर्माणमा सरकारले उच्च प्राथमिकतामा दिनुपर्ने उनीहरूको सुझाव छ । नेपाल पर्यटन बोर्डले पर्यटकको खर्च १०० डलर पुगेको अनुमान गरे पनि सन् २०२१ मा एक पर्यटकले १ दिनमा ४८ डलर खर्च गरेको देखिन्छ । पर्यटकको बसाइ अवधि सन् २०२१ मा १५ दशमलव ५ दिन छ ।
साहसिक पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । कैयौं हिमाल र हिमालका घाँटीहरू पास गर्दै कठिन यात्रा गर्नुपर्ने उच्च हिमाली क्षेत्रमा रहेका पदयात्रा (ट्रेकिङ रूट) मार्ग छन् । ग्रेट हिमाल ट्रेल, शेर्पेनीकोल, टाशीलाप्चा पास, आमालाप्चा पास, मिङ्माला पास, मेराला पास, कालापत्थर, गोक्यो–री, रिन्जोला पास, चलोला पास, कञ्चनजंघा दक्षिण सेलेले पास, मिरिङला पास, कञ्चनजंघा उत्तर ल्होनाक, पाङ्पेमा बेस क्याम्प, कागमारा पास, अप्पर डोल्पा, शे–गुम्बा, धो–तराप पास, गणेश हिमाल, रुबी भ्याली, नार–फु, थोरोङपास, तिलिचो पास, मनास्लु पास, चुम भ्याली, धवलागिरि पास (धवलागिरि राउन्ड), गोसाइँकुण्ड पास, अप्पर मुस्ताङ, माछापुच्छे« तथा अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल, अन्नपूर्ण धवलागिरि (एडी) सर्कट, अपी हिमाल, हुम्ला (लिमी) पास आदि प्रमुख पदयात्रा मार्ग हुन् । विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने धेरै कम पदयात्रा मार्गमध्ये पर्ने शेर्पेनीकोल एक हो ।
पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६ हजार २०० मीटरको सेरोफेरोको यात्रामा खुबै सास्ती खेपिरहेका हुन्छन् ।
धेरै उचाइ र साह्रै कठिन यात्रा गर्नुपर्ने भएकाले यो पदमार्गमा धेरै कम विदेशी पर्यटक आउने गरेका छन् । यो रूटमा ट्रेकिङ गर्न कुनै बेला सुनसरी जिल्लाको धरान बजार, भेंडेटार, धनकुटा बजार, हिले, पाख्रीवास, ताङ्माया, तुम्लिङटार हुँदै पैदल यात्रा गर्नुपथ्र्यो । अहिले चाहिँ संखुवासभा जिल्लाको चिचिला–नुमसम्मै गाडी चल्ने गरेको छ । त्यहाँबाट पैदल यात्रा टाशी गाउँ, याङले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, वरुत्चे हिमालको बेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) पास गरेर सोलुखुम्बु जिल्लाको मेरा–ला, खारे, ठाङना, हुँदै लुक्ला पुगेर पदयात्रा सकिन्छ ।
केही पदयात्रीहरूले चाहिँ मेरा–ला वा वरुत्चे हिमालबाट आम्फु लाप्चा पास हुँदै छुकुङ गाउँमा निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे बजार हुँदै लुक्ला बजारमा आएर आफ्नो २५/२६ दिनदेखि २९/३०/३१ दिनसम्मको पदयात्रा समाप्त गर्छन् ।
यो पदयात्रा मार्गमा विभिन्न उपमार्ग पनि छन् तापनि मानेभञ्ज्याङ, चिचिला, नुम, सेदुवा, टासिगाउँ, खोङ्मा डाँडा, नुम्बुक, याङ्ले खर्क, हिलारीबेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) मा क्याम्प गर्नुपर्छ ।
यहाँ सीधा भिरालो छ । यहाँको बाटो हिउँ नै हिउँले ढाकेको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नुपर्छ । ६,२०० मीटरको हाराहारीमा वरुणत्चे हिमालको क्याम्प–१ मा वास बस्नुपर्छ । यो मार्गमा टासीगाउँसम्म मान्छेको बसोवास छ । यहाँ २०–२५ घर शेर्पा छन् । त्यसपछिको प्राय: सबै क्याम्प खर्क–चउरमा गरिन्छ । हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न शुरू गर्नुपर्छ । हिलारी बेस क्याम्प ४,२०० मीटर उचाइमा अवस्थित छ । त्यस्तै १ दिन पूरै नाक ठोक्किने उकालो बाटो हिँड्नुपर्छ । पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६,२०० मीटरको सेरोफेरोमा यात्रा गरिरहेका बेला खुबै सास्ती खेपिरहेका हुन्छन् । उच्च हिमाली भेगमा अक्सिजनको कमी हुन्छ । हिँड्दाहिँड्दै थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन् ।
प्राय: सबै पदयात्री, स्टाफ तथा भरियाको हालत त्यस्तै हुन्छ तापनि भरियाको अवस्था बढी नै दयनीय हुन्छ । कतिपय भरिया उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थायी रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’) का कारण सिकिस्तै हुन्छन् भने कतिको त हिँड्दाहिँड्दै ज्यानै जान सक्ने खतरा हुन्छ ।
शेर्पेनीकोल पास गरेर वरुणत्चे बेस क्याम्प आउने दिन लगभग ५०० मीटरजति त डोरी मात्रै टाँग्नुपर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङलगायत सबै सरसामान डोरीबाटै पास गर्नुपर्छ । कति भरियाले भारी बोक्न नसकेर बाटो छाडेर हिँड्छन् । ज्यानभन्दा ठूलो होइन ती खानेकुरा र सरसामानहरू ! बाटामा कताकति हिउँले कठ्याङ्ग्रिएर र लेक लागेर मरेका मान्छेको लास पनि भेटिन्छ । ती लास प्राय: नेपालीका, त्यसमा पनि भरियाहरूको हुन्छ ।
दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ । फेरि तल बस्नेले गलत संंकेत दियो भने दुर्घटना हुने सम्भावना बढी नै हुन्छ । त्यसैले यो पदयात्रा मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीहरूले पदयात्रा (ट्रेकिङ) गर्दैनन् । जजसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होऊन्, उनीहरू आफूलाई गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । यहाँ पर्यटकले विश्वकै उच्च हिमाली भेगको पास एवम् खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् ।
विगतमा आधुनिक सूचना र सञ्चारको अभाव र मानव बस्ती नभएका कारण बीच बाटोमा कथंकदाचित् विदेशी पर्यटक अथवा नेपाली स्टाफहरू बिरामी भइहालेमा उद्धारका लागि हेलिकोप्टर मगाउन हत्तपत्त सम्भव हुन्थेन । लेक लागेर बिरामी भएका मान्छेलाई बचाउन सके वा बिरामी बाँचेमा पनि सद्दे र तगडा मान्छेले सकी–नसकी बोकेरै उद्धार गरिन्थ्यो । केही गरी विदेशी पर्यटक मरेमा लासलाई बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो र हेलिकोप्टरले उद्धार गरेर काठमाडौं ल्याउँथ्यो । नेपालीहरू मरी हालेमा लास त्यतै छाडिन्थ्यो । त्यस्तो अनकन्टार र हिउँ नै हिउँको बाटोमा कोही बिरामी भइहालेमा बिरामीका साथमा ३–४ जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । बिरामी एक्लै फर्किन सम्भव नै हुँदैनथ्यो । बिरामीलाई एक्लै फर्काएमा बाटोमा मर्ने बाँच्ने केही ठेगान हुँदैनथ्यो, अझ त्यसरी एक्लै पठाउँदा धेरैजसो बिरामी मर्ने सम्भावना नै हुन्थ्यो ।
लेखक पर्यटनकर्मी हुन् ।