चाडवाड घरदैलोसम्म आइपुग्नै लाग्दा पनि उखु किसानले भने सरकारबाट पाउने अनुदान रकम पाउन सकेका छैनन् । अनुदान रकमबाट चाडवाड मान्ने योजना बनाएका सर्लाही र नवलपरासीका किसान अहिले निराश हुन थालेका छन् ।
सर्लाही – सर्लाहीका उखु किसानले सरकारले दिनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको रकम अझैसम्म पनि पाएका छैनन् । उखु बिक्री गरेको नौ महिना बितिसक्दा पनि सरकारी अनुदानको रकम नपाउँदा उखु किसान समस्यामा परेका छन् ।
सरकारले घोषणा गरेको उखुको अनुदानको रकम समयमा भुक्तानी नहुँदा घर खर्च टार्न र खेतीपाती लगाउन मुस्किल परेको हरिवन नगरपालिका–६ का उखु किसान रामउदगार महतोले गुनासो गर्नुभयो ।
सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल छ सय १० रुपैयाँ निर्धारण गरेको थियो । ...