प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नुअघि निरु पालको आग्रह : संघीयता नामको सेतो हात्ती हटाऔँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाकी नेत्री निरुदेवी पालले संंघीयता खारेज गर्न पुनः माग गर्नुभएको छ । काठमाडौंमा शक्ति प्रदर्शनसहित प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने तयारी गरेको अघिल्लो दिन नेत्री पालले प्रधानमन्त्रीलाई सम्बोधन गरी सामाजिक सञ्जालमार्फत संघीयता खारेज गर्न माग गर्नुभएको हो । ओली समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ भने प्रधानमन्त्री ओलीसहित वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओली निकट मानिनुहुने नेत्री पालले यसअघि पनि संघीयता खारेजीको माग गर्दै लेखेको स्ट्याटस चर्चाको विषय बनेको थियो । राष्ट्रिय सभामा समेत चर्चाको विषय बनेको पालको स्ट्याटसप्रति हजारौंले समर्थन जनाएका थिए । पालले लेख्नुभएको छ, ‘प्रधानमन्त्रीज्यू यो संघीयता नामकोे सेतो हात्ती हाम्रो मुलुकले धान्दैन । मुठ्ठीभर नेता त खुसी छौँ । कोही मुख्यमन्त्री, कोही प्रदेश मन्त्री, कोहिी सांसद छौँ । तलब भत्तामै देशको ढुकुटिी न सिद्याऔँ । जनताले चाहेको अधिकारको विकेन्द्रिकरण हो । बरु स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔँ ।’ यो पनि : प्रधानमन्त्रीलाई संघीयता खारेज गर्न निरु पालले दिएको सुझावप्रति सामाजिक सञ्जालमा ब्यापक समर्थन