चैत १५, काठमाडौं । जुम्लाका सुरेश रोकाया बिगत १५ वर्षदेखि काठमाडौंमा कार्पेट बेचीरहेका छन् । हरेक वर्ष दशैं तिहार खाएर चिसो छल्न जुम्ला छोड्ने रोकाया वैशाख लागेपछि मात्रै घर फर्किन्छन् ।
त्यतिन्जेल उनले राडीपाखी, कार्पेट, बल्याङ्केट लगायतका घरयासी प्रयोगका सामग्री बेचेर कम्तिमा ५ देखि ७ लाख रुपैयाँ कमाइ सकेका हुन्छन् ।
कार्पेट बेचेर कमाएको पैसाले बर्दियामा जग्गा किनेको बताउने उनका साथी कमल शाही पनि बिगत १० वर्षदेखि यहि पेशामा छन् । ३ महीना मात्रै काम गर्दा पनि ४/५ लाख रुपैयाँ कमाउन सक्ने यो पेशा अन्य ठाउँका मानिसले भने त्यति धेरै गरेको पाइदैन ।
जुम्ला, हुम्ला र कालिकोटका अधिकांस युवाहरू यो पेशामा आवद्ध छन् । बझाङ, बाजुरा र दार्चुलाका केही मानिसहरू पनि अहिले यो पेशामा छिरेका छन् । तराई मुलका केही मानिसहरू पनि छिटफुट रुपमा यो पेशामा लागेको देखिन्छन् ।
तर यो पेशाको शुरूवात भने जुम्लाबाटै भएको मानिन्छ । २० अघिसम्म भेडाको उनबाट बनेका सामाग्री बेच्ने जुम्लेलीहरू पछिल्लो समय चीनबाट बल्याङ्केट, कार्पेट लगायतका सामान ल्याएर बेच्न थालेका हुन् ।
मौसमी काम भएपनि राम्रो आम्दानी हुने र घरयासी काम पनि गर्न सकिने भएकाले उनीहरू विदेश जान मन गर्दैनन् । विदेशको भन्दा राम्रो कमाइ नेपालमै हुने भएकाले मासिक ३०/४० हजार कमाउन खाडीको ५० डिग्री तापक्रममा नगएको उनीहरू बताउँछन् ।
खाना खाने ठेगान हुँदैन
हरेक दिन बिहान ५/६ बजे उठेर कम्तिमा १५ देखि २० किलोको भारी बोक्दै उनीहरुको दिनचर्या शुरू हुन्छ । जहाँ पुग्दा भोक लाग्यो त्यहिँ खाना खान्छन् । खाना नपाए चाउचाउ बिस्कुट मात्रै खाएर पनि दिन बिताउनुपर्छ । ‘कमाइ त राम्रो छ तर दुःख पनि धेरै छ ।’ रोकायाले भने ।
भिडियोमा कुरा गर्न आग्रह गर्दा अस्विकार गरेका रोकायाले आर्थिक अभियानसँग कुराकानी गर्न १० मिनेटभन्दा बढी समय दिए ।
‘कहिलेकाहीं दिनभरी हिड्दा पनि एउटै सामान विक्री हुँदैन । कहिलेकाहीं ४/५ ओटा कार्पेट पनि विक्री हुन्छन् । महीनामा लाख रुपैयाँ त जसै पनि कमाइ हुन्छ’, उनले भने ।
‘यो पेशामा दुःख धेरै भएकाले अन्य ठाउँका मानिसहरू आउन सक्दैनन् । कोही कोही रहर गरेर १/२ महीना घुम्छन् । तर लामो समय टिक्न सक्दैनन् ।’ रोकायाले अगाडि भने ।
उनिहरूले यो व्यवसाय गर्न पूँजी लगानी गर्नुपर्दैन । न्यूरोडका होलसेल व्यवसायीसँग उनिहरूले होलसेल मूल्यमा सामान उठाउँछन् । त्यसलाई बजारमा बेच्दा पसलले बेच्नेभन्दा केही सस्तोमा पनि बेचिदिन्छन् ।
सस्तोमा बेच्दा पनि एउटा कार्पेटमा १ हजार रुपैयाँ नाफा नखाएर बेच्दैनन् । कसैलाई अफ्ठ्यारै परेको अवस्थामा ५०० रुपैयाँ मात्रै नाफा आएपनि बेच्ने गरेको रोकायाले बताए ।
दुःखका भारी बिसाउने असनका चिया पसल
उनीहरूको व्यापार राम्रो भयो भने भोलिपल्ट बिहान असनका चिया पसलमा हाँसो छाउँछ । कहिलेकाहीं ४/५ दिन डुल्दा पनि एउटै कार्पेट बेच्न सक्दैनन् । त्यस्तो बेला उनीहरू असनकै चिया पसलमा दुःख बिसाउँछन् ।
साहुले उधारोमा सामान दिदैन भनेको, सामानको पैसा मागेको, हिन्दा हिन्दा जुत्ता चप्पल च्यातिएको, खुट्टा दुखेको, टाउको दुखेको लगायतका सबै कुरा चिया पसलमा सुनिन्छ ।
बेच्ने मूल्य भन्दा दोब्बर मूल्य भन्ने उनीहरू अन्तिममा ५०० देखि १ हजार रुपैयाँसम्म नाफा आए बेच्न तयार हुन्छन् । कहिलेकाँही किन्ने मान्छे नयाँ पर्यो र बार्गेनिङ गर्न सकेन भने एउटै कार्पेटबाट २ हजार रुपैयाँसम्म पनि नाफा खाएर बेचेका उदाहरण छन् ।
दिनैभरी काँधमा भारी बोकेर डुल्ने जुम्ला कालीकोटका युवाहरू साँझ परेपछि भने लोकल गाडी चढेर रत्नपार्क आसपासका कोठामा फर्किन्छन् । दिनभरीको थकान मेट्न १ गिलास लोकल कोदोको रक्सी खाएर आनन्दले सुत्छन् । भोलिपल्ट फेरि उज्यालो नहुँदै उनीहरूको उही दिनचर्या शुरू हुन्छ ।