तालिबानद्वारा राष्ट्रपति निवास कब्जा , युद्ध अन्त्य भएको दाबी

राजधानी काबुलमाथि नियन्त्रणसँगै तालिबानले अफगानिस्तान जितेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त एवम् २० वर्षसम्म अमेरिका नेतृत्वको सैन्य गठबन्धनको सहयोगमा टिकेको सरकार झुकेपछि तालिबानले काबुल समेत नियन्त्रणमा लिएको हो । तालिबानका एक जना प्रवक्ताले अलजजिरासँगको कुराकानीमा युद्ध अन्त्य भएको बताएको छ । काबुलमा सूर्योदय भएसँगै चारैतिर तालिबानको सेतो झण्डा फहराएको देखिएको छ । ‘काबुल अराजकतामा गएको छ, स्थानीयबासी र विदेशी नागरिक काबुलबाहिर निस्किन खोजेका छन् ।’– बीबीसीले उल्लेख गरेको छ । एक जना स्थानीय प्रत्यक्षदर्शीका अनुसार काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीले आ आफ्नो कार्यकक्ष छोड्का छन्, अन्य सयौं ब्यक्ति विमानतर्फ दौडिरहेका देखिन्छन् ।