काठमाडौ । कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका नाममा रहेको जग्गा तथा निर्माणाधीन आवासीय भवन लिलाम विक्री गर्ने भएको छ ।
कोेषले शुक्रवार एक सूचना जारी गर्दै व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको हो । कोहिनुर हिल हाउजिङका नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस वडा नं ४ रहेको १०–९–२–० जग्गा तथा त्यहाँ निर्माणाधीन आवासीय भवन खरीदका लागि कोषले सिलबन्दी आह्वान गरेको छ ।
कोहिनुर हिल हाउजिङ सञ्चय कोषका नाममा दृष्टिबन्धक छ । कोषका अनुसार हाउजिङका लागि इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको खातामा १ हजार रुपैयाँ जम्मा गरी सूचना जारी भएको १५ दिनभित्र बोलपत्र फाराम बुझाउन सकिनेछ ।
पटक–पटक समय दिँदासमेत ऋण भुक्तानी नगरेपछि कोषले व्यवसायी बस्नेत, उनका श्रीमती तथा कोहिनुर हिलका नाममा रहेको चलअचल सम्पत्ति विक्री गरेर ऋण असुली गर्न लागेको बताएको छ । यसअघि असारमा पनि सञ्चय कोषले लिलाम विक्रीका लागि सूचना बोलकबोलका लागि २१ दिनको म्याद दिएको थियो ।
हाउजिङ कम्पनी लिलाम विक्रीका लागि कोषले यसअघि सूचना जारी गरे पनि विक्री भने हुन सकेको थिएन । रासस