ट्रङ्कलाइन महसुल विवाद, छुट्टै आयोग बनाउन माग

रुपन्देहीका उद्योगीले यहाँको डेडिकेटेड र ट्रङ्कलाइनको समस्या अन्यत्रको भन्दा फरक रहेको भन्दै छानबिनका लागि छुट्टै आयोग बनाउन माग गर्नुभएको छ । ट्रङ्कलाइनको विवादमा परेका अन्य जिल्लाका उद्योगको भन्दा रुपन्देहीका उद्योगको महसुल विवाद फरक भएको उहाँहरूको दाबी छ । भैरहवा–बुटवल ओद्यौगिक कोरिडोर अन्तर्गत ट्रङ्कलाइन विवादमा परेका २१ वटा उद्योग सञ्चालकले अन्य जिल्लाको जस्तो आफूहरूको महसुल विवाद नभएको भन्दै छुट्टै नियमन आयोग बनाएर समस्या समाधान गर्न उहाँहरूले माग गर्नुभएको छ । उद्योगीले चरम लोडसेडिङ भोगिरहेको तत्कालीन अवस्थामा प्रयोग नै नगरेको विद्युत् महसुल तिर भन्नु कानुनसम्मत र न्यायोचित नभएको बताउनुभयो ।