कतार । कतार नेपाली एकता समाजले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया बालिका भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्यामा संलग्नलाई यथाशिघ्र कार्बाही गर्न सरकार सँग जोडदार माग गरेको छ।
समाजका अध्यक्ष बिष्णु थापा क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै पाशविक घटनामा संलग्नलाई जति सक्दो चाडो कडा कार्बाही हुनुपर्ने बताउनुभएको छ ।
‘निर्मला पन्तको बलात्कार र हत्याका अपराधीहरुलाई २ वर्ष सम्म कारवाही गर्न नसक्नुले सरकार बलात्कार र हत्याका घटनामा उदासिन रहेको देखिएको छ । भागरथी भट्टको पनि निर्मला पन्तको घटना जस्तै कारवाही हुन नसक्ने अवस्था सिर्जना हुने त होइन भन्ने आशंका पैदा भएको छ । यस घटनालाई गम्भीर ढंगले छानबीन गर्न माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।
भागरथी भट्टका बलात्कारी र हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै समाजले मृतक प्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।