मेगा म्युचुअल फण्ड–१ को इकाई खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

भदौ १०, काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको मेगा म्युचुअल फण्ड–१ को इकाई खरीदका लागि आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने यस फण्डको प्रतिइकाई रू. १० अंकित मूल्यमा रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री गरेको हो ।  फण्डको कुल इकाई मध्यबाट पनि १५ प्रतिशत वा एक करोड ५० लाख इकाई काष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो । यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।  फण्डको इकाई खरीदका लागि भदौ ९ गते बुधवार साँझ ५ बजेसम्म १ लाख ३४ हजार ७६० जना आवेदकहरुबाट १४ करोड ६४ लाख ११ हजार ८०० कित्ताको माग भएको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि भदौ १० गतेसम्म मात्र कोषले इकाई विक्री खुला गर्न लागेको हो । यस अवधिसम्म माग बमोजिम आवेदन परेको खण्डमा भने ढिलोमा भदौ १८ गतेसम्मको मिति तय गरिएको थियो ।  १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धक मेगा क्यापिटल मार्केटसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेब र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।