शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने समयावधि थप

वैशाख २६, काठमाडौं । वैशाख १९ गतेदेखि लिलामीमा आएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकोे अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अवधि थप भएको छ ।  कम्पनीले ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर विक्रीका लागि यस अघि आज (सोमवार) सम्मको मिति तय गरेको थियो । सरकारले वैशाख २० गते सार्वजनिक बिदा दिएकाले एक दिन अवधि थप गरी वैशाख २७ गतेसम्म कायम गरिएको जानकारी कम्पनीले दिएको हो । कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।  शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि तोकिएको सीमाको अधिनमा रही अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिने भनाइ कम्पनीको छ ।  इच्छुक खरीदकर्ताहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्श नगर बीरगंज र गोल्छाचोक विराटनगरका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नारायणगढ, हेटौडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा १ः०.३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गरेको हो । अवितरित बाँकी हकप्रद शेयर विक्री तथा बाँडफाँट पश्चात यो पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ ।