जजिराको जहाज काठमाडौंबाट डाइभर्ट : गौतमबुद्ध विमानस्थलमा अवतरण

भैरहवा– काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। कुवेतबाट काठमाडौंका उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो। जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार […]

सम्बन्धित सामग्री

जहाज ‘ओभरसुट’ : जोखिम कि सुरक्षित ? के भन्छन् विज्ञहरू ?

काठमाडौं । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्‍यो ।  काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एक घण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्‍यो । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।  त्यस दिन एयर इण्डियासहित अन्तरराष्ट्रिय उडानका तीन जहाज भारतको बनारस र लखनऊ डाइभर्ट भएका थिए । फ्लाई दुबई र इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको थियो ।  विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटीसी) का अनुसार उक्त दिन ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको थियो । अन्तरराष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थलको भनाइ छ ।  त्यस्तै वैशाख १६ गते दिउँसो नयाँ दिल्लीबाटै काठमाडौं आएको एयर इण्डियाको जहाजले ओभरसुट गरेको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेबल एप्रोच’ भएकाले ओभरसुट गरेको हो ।   यसरी एक महिनामै एयर इण्डियाको जहाजले दुई पटक ओभरसुट गर्‍यो । जहाज अनस्टेबल एप्रोच भएर तथा कहिलेकाहीं एप्रोच प्रोफाइल नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि ओभरसुट गर्नुपरेको विज्ञहरू बताउँछन् । जहाज ओभरसुट र होल्ड हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ । तर, जहाज ओभरसुट र होल्ड हुँदा जोखिम नभई थप सुरक्षित हुने उहाँहरूको भनाइ छ ।  नेपाल वायुसेवा गिनम (नेपाल एयरलाइन्स)का एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेबल एप्रोच’ का कारण जहाजले ओभरसुट गर्छन् । ‘ओभरसुट सबैभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ,’ उनले भने, ‘ओभरसुटलाई अनस्टेबलाइज एप्रोच भन्छ, ९० प्रतिशत धावनमार्गमा हुने दुर्घटना ओभरसुटका कारण हुन्छन् ।’  नेपालमा ओभरसुटलाई नकारात्मकरूपमा लिने गरिए पनि संसारभर ओभरसुटलाई सकारात्मक रूपमा लिइन्छ र सम्बन्धित मुलुकको ‘एभिएसन अथ्योरिटी’ले कारबाही गर्दैनन् । तर, नेपालमा ओभरसुट भएपछि नियामक निकायले स्पष्टीकरण लिने गरेको ती वरिष्ठ पाइलटको भनाइ छ ।  जहाज अनस्टेबल एप्रोच भएर तथा कहिलेकाहीं एप्रोच प्रोफाइल नमिलेर ओभरसुट हुन्छ । कहिलेकाहीं धावनमार्गमा केही वस्तु देखिएमा पनि जहाज ओभरसुट गरिन्छ ।  विसं २०७९ वैशाख १ गते भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौं फर्किएको नेपाल एयरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनैलाग्दा ओभरसुट गरेको थियो । पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि एटिसी टावरलाई जानकारी गराएर जहाज ओभरसुट गरी पुनः अवतरण गरेका थिए ।  ‘पहिला म्यान्डेटरी एप्रोच पनि भनिन्थ्यो ओभरसुटलाई । तर, अहिले आएर सम्भावित जोखिम न्यूनीकरणका हिसाबलाई यसलाई सकारात्मक रूपमा लिइन्छ, त्यसैले अहिले संसारमा ओभरसुटको विषयलाई लिएर प्रश्न नै नगर्ने भन्ने प्रवृत्ति बनिसकेको छ,’ उनले भने ।   जोखिम मोलेर अवतरण गर्नुभन्दा ओभरसुट गर्नु बढी सुरक्षित भएकाले जहाजले ओभरसुट गर्ने गरेको वरिष्ठ पाइलटको भनाइ छ । विमानस्थलका प्रवक्ता सिटौलाको भनाइमा टीआईएमा दक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले जहाज होल्ड हुने र ओभरसुट हुनेगरेको छ । जसका कारण विमानस्थललाई चाप परेको छ । एयर ट्राफिक जाम पनि हुन्छ ।  विशेष गरी चैत–वैशाखमा धावनमार्गको दक्षिणतर्फबाट बढी हावा चल्ने भएकाले टीआईएमा जहाजले ओभरसुट गर्ने र होल्ड हुने गरेका छन् ।  कतिपय अवस्थामा कम्पनीको नियम अनुसार पनि जहाजले ओभरसुट गर्छन् । यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौं विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तरराष्ट्रिय उडानका जहाजले काठमाडौं विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।  यसरी ओभरसुट भएका जहाजका कारण एप्रोचका लागि विभिन्न गन्तव्यबाट आइरहेका अन्य जहाज होल्डमा पर्छन् । यसले अन्तरराष्ट्रिय विमानस्थलमा एयर ट्राफिक जाम पनि बढाउने गरेको छ । आन्तरिक उडानका जहाजलाई पनि चाप पर्छ । अहिले पनि अन्तरराष्ट्रिय विमानस्थमा दैनिक एक घण्टासम्म जहाज होल्ड हुने गरेका छन् । विमानस्थलको चापले आन्तरिक उडानका जहाजलाई पनि समस्या हुने गरेको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) अति व्यस्त विमानस्थलमा पर्छ । यो विमानस्थल स्थापनाको करिब ७२ वर्षपछि थप दुई अन्तरराष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । हाल मुलुकमा तीन अन्तरराष्ट्रिय विमानस्थल छन् । कुल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढिरहेको छ । यो विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई लिइएको थियो । उक्त विमानस्थलमा अत्याधुनिक उपकरणयुक्त छ ।  मौसम खराबी भएको अवस्थामा काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ ।  तथापि यो विमानस्थलको भरपुर उपयोग हुन सकेको छैन । काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका जहाज र होल्ड भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हुँदैनन् । डाइभर्ट भएका अन्तरराष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनऊ, कोलकात्ता जाने गरेका छन् ।  गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल बनेपछि टीआईएमा चाप कम हुने अनुमान गरिएको थियो । तर, तीन अन्तरराष्ट्रिय विमानस्थल भए पनि टीआईएको उडान चाप उत्तिकै छ । दुई विमानस्थलले विजनेश पाएका छैनन् ।       दैनिक एक घण्टा होल्ड       यही वैशाख १९ गते कतार एयरवेजको जहाज करिब एक घण्टा होल्ड भयो । दोहाबाटै काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजले तीन फन्का मारेको थियो । भारतको नयाँदिल्लीबाट आएको इण्डिगो एयर पनि केहीबेर होल्डमा बसेको थियो । कतिपय मौसमको खराबीले र कुनै कम्पनीको नियमअनुसार  ‘भिजिबिलिटी’ हेरेर मात्रै अवतरण गर्छन् ।     टीआईएमा दैनिक आन्तरिक र अन्तरराष्ट्रिय गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेको छ । अन्तरराष्ट्रियमा तीन नेपालीसहित २९ एयरलाइन्सले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका छन् । रासस

साढे ६ दशकको पर्खाइ : ठूला विमानस्थल पूर्वाधारमा फड्को

वि.सं. २००६ मा गौचरण विमानस्थलबाट हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले नागरिक उड्डयन सेवा शुरू गरेको थियो । यद्यपि यो विमानस्थलको औपचारिक उद्घाटन भने वि.सं. २०१२ मा भएको थियो । यो तथ्य हेर्दा ठूला अन्तरराष्ट्रियस्तरका विमानस्थल पूर्वाधार विकास गर्न नेपालले साढे ६ दशक कुरेको देखिन्छ । उडान सेवा शुरू गरेको हिसाबले भने ७ दशक नै पुगेको छ । नेपालमा उड्डयन सेवा शुरू भएको यो अवधिका बीच अहिले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी अवस्थामा छ । यद्यपि यसमा पनि विभिन्न प्रक्रियागत विषय नटुंगिदा क्यालिब्रेशन उडानका साथै व्यावसायिक उडान कहिले शुरू हुने भन्ने निश्चित हुन भने सकेको छैन । मुलुकमा उड्डयन सेवा शुरू भएको दशकौंपछि भए पनि हाल अन्तरराष्ट्रियस्तरका थप दुईओटा विमानस्थल निर्माण भएर सञ्चालनको तयारीमा पुग्नुलाई उपलब्धिकै रूपमा लिन सकिन्छ । नेपालको एकमात्र अन्तरराष्ट्रियस्तरको विमानस्थल त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पमा अहिले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल झन्डै सञ्चालनको चरणमा छ भने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको ८९ प्रतिशत प्रतिशत काम सम्पन्न भएको छ । यसैगरी निजगढ विमानस्थल निर्माणको योजना पनि अघि सारिएको छ । निजगढ विमानस्थल निर्माण र सञ्चालनमा सरकारले तीव्र चासो दिएर बजेट, निर्माणको मोडालिटी तय गरेमा अबको ५ वर्षभित्रै यो विमानस्थल पनि सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको आकलन छ । आन्तरिक तथा बाह्य यात्रु÷पर्यटक बढ्दो अवस्थामा रहेका बेला सरोकारवालाले हवाई पूर्वाधार नै अपुग भएको बताउँदै आएका छन् । सरकारले नै कोरोना भाइरस (कोभिड–१९) पूर्व नै नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको थियो भने अर्काेतर्फ आन्तरिकतर्फ पनि यात्रु बढिरहेका छन् । यात्रु र गन्तव्य बढ्दै जाँदा खासगरी अन्तरराष्ट्रिय उडानतर्फ पूर्वाधार विस्तार नहुँदा उडानमा चाप पर्ने गर्छ । तर, २०५१ सालदेखि दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बनाउन गरिएका अध्ययन र यो आवश्यकता सम्बोधनका लागि तदारुकता नदेखिँदा अर्काे अन्तरराष्ट्रिय विमानस्थल बन्न लामो  समय लागेको छ । एकमात्र अन्तरराष्ट्रिय विमानस्थल हुँदा हवाई तथा यात्रुको चाप बढेपछि दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बनाउन उपयुक्त स्थान पहिचानको गरिएको थियो । काठमाडौं मात्र नभई अन्य स्थानमा पनि स्तरीय विमानस्थल बनाउन अध्ययन शुरू भएको थियो । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालनको अवस्थामा पुग्नै २७ वर्ष लागेको छ । त्यतिबेला दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बनाउन निजगढसहित विभिन्न ११ ओटा स्थान छनोट गरिएको थियो भने निजगढ नै उपयुक्त विमानस्थल बन्न सक्ने ठहर गर्दै यसमा काम अघि बढाइएको छ । हाल गुरुयोजना बनिसकेको र अधिग्रहण गरिएको जग्गामा तारबारको काम सकिएको निजगढ विमानस्थललाई नै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि सारिएको छ । यद्यपि यो विमानस्थलभन्दा लगानी र निर्माणका हिसाबले तत्कालका लागि गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल उपयुक्त देखिएपछि अहिले यी दुवै विमानस्थललाई निर्माण तथा सञ्चालनको अन्तिम चरणमा पु¥याइएको छ । निजगढ विमानस्थल निर्माण गर्न शुरूदेखि नै अर्थात् जग्गा अधिग्रहणदेखि अन्य सबै काम ‘फ्रेस’ नै हुने भएकाले सरकारले सञ्चालनमै रहेका भैरहवा र जग्गा अधिग्रहण भइसकेको पोखरा विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन शुरू गरेको हो । पोखरा र भैरहवा विमानस्थलमा केही लगानी थप्दा मात्रै पनि अन्तरराष्ट्रिय स्तरको बनाउन सकिने आधार थियो । पोखरा विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको बनाउन २०३१ सालमै जग्गा अधिग्रहण गरिएको थियो । पोखरा पर्यटकीय दृष्टिले पनि उपयुक्त मानिएको हुँदा आन्तरिक र अन्तरराष्ट्रिय उडान गर्न यो विमानस्थल निर्माणलाई प्राथमिकता दिइएको थियो । निजगढमा ठूलो लगानी (७ खर्ब प्रक्षेपण), जंगल क्षेत्र, बस्ती समेत भएकाले त्यहाँ छिटो निर्माण सम्पन्न गर्न असम्भव थियो । नेपाल–भारत सीमा क्षेत्र नजिक, हवाई इन्धनको ढुवानी सहज, तराई भूमिमा विमान अवतरण गर्न अनुकूल र देशको मध्य भागमा रहने हुँदा देशका सबै यात्रुलाई सुविधा हुने हिसाबले निजगढ विमानस्थल निर्माण गर्न सिफारिश गरिएको थियो । साथै ठूलो क्षेत्रफलमा बन्ने भएकाले ट्रान्जिट र कार्गाे हबको रूपमा बहुउद्देश्यीय रूपले प्रयोग गर्न सकिने भएकाले सिफारिश गरिएको थियो । काठमाडौंमा मात्र केन्द्रित हुँदै आएको हवाई उडान ‘डाइभर्ट’ गर्न पनि यी विमानस्थलहरू सञ्चालनमा ल्याउन जरुरी छ । कोरोना भाइरस संक्रमणका कारण अन्य पूर्वाधार आयोजनाका साथै विमानस्थल पूर्वाधार विकास तथा निर्माणमा पनि ढिलाइ भएको छ, जसकारण पोखरा विमानस्थलको म्याद नै १ वर्ष थपिएको छ भने सञ्चालन लागि तयार भएको गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडानका लागि मिति सारिँदै आएको छ । पछिल्लो समय कोभिडको ‘ओमिक्रोन’ भेरियन्ट देखापर्दा यी आयोजनामा थप विलम्ब हुने हो कि भन्ने आंशका पनि उत्पन्न भएको छ । गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडान छिटो गर्नुपर्नेछ । साथै व्यावसायिक उडान गर्दा विमानस्थल सञ्चालन तथा व्यवस्थापनको मोडालिटी पनि तयार गर्नुपर्छ । खाँचो सञ्चालन मोडालिटीको निर्माण सम्पन्न हुँदै गर्दा यी दुई विमानस्थल कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले छिटो मोडालिटी तय गर्नुपर्नेछ । ९८ दशमलव ७६ प्रतिशत काम सम्पन्न भइसकेको गौतमबुद्धमा छिट्टै नै क्यालिब्रेसन उडान हुँदै छ । यसको ५ महिनाभित्रै व्यावसायिक उडान गर्न गौतमबुद्ध विमानस्थल तयार हुने प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए । तर, यो विमानस्थल कुन मोडलमा सञ्चालन गर्ने, प्राधिकरणले सञ्चालन गर्ने कि निजीक्षेत्र र अन्तरराष्ट्रिय कम्पनीको साझेदारीमा सञ्चालन गर्ने भन्ने विषय स्पष्ट हुन सकेको छैन । यस्तै यो व्यवस्था हाल ८९ प्रतिशत काम सम्पन्न भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पनि लागू हुन्छ । सञ्चालनको मुखमा रहेका यी दुई विमानस्थल सरकार तथा प्राधिकरणले सञ्चालन गर्न नहुने प्राधिकरणका अधिकारी बताउँछन् । विमानस्थल सञ्चालन र त्यसबाट हुने राजस्व संकलन नै प्राधिकरणको आम्दानीको स्रोत हो भने अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्राधिकरणको प्रमुख आम्दानीको स्रोत हो । सञ्चालनको मुखमा रहेका यी विमानस्थल भने सरकार तथा प्राधिकरणले सञ्चालन गर्न नहुने तर्क प्राधिकरणका अधिकारीले अघि सारेका छन् । सरकार तथा प्राधिकरणले नै सञ्चालन गर्ने भन्दा पनि प्राधिकरणले प्राविधिक रूपमा सघाउने तर सञ्चालन तथा व्यवस्थापन भने निजीक्षेत्र वा अन्तरराष्ट्रिय कम्पनीले गर्नुपर्छ । यसका लागि सार्वजनिक–निजी–साझेदारी (पीपीपी)मा जानुपर्ने ती अधिकारीले बताएका छन् । यसले गर्दा व्यावसायिक रूपमा पनि क्रियाकलाप बढाउन सकिने हुँदा आम्दानी बढ्छ । अब सञ्चालन हुने अन्तरराष्ट्रिय विमानस्थल निजीक्षेत्रसँग समन्वय गरेर अन्तरराष्ट्रिय मापदण्डमा चलाउनुपर्छ । सबै खर्च प्राधिकरण तथा सरकारले गर्न सक्दैन । प्राविधिक सहयोग प्राधिकरणले गरे पनि व्यवस्थापन तथा सञ्चालन निजी क्षेत्रबाट आउनुपर्नेमा सम्बद्ध अधिकारीले जोड दिएका छन् । यसले विमानस्थलको सेवा, सुविधा र गुणस्तर राम्रो हुने भएकाले सरकारले छिट्टै विमानस्थल सञ्चालन मोडालिटी तय गर्नुपर्छ । त्रिभुवन विमानस्थलमा बढ्दो ‘मुभमेन्ट’ नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विमान उडान अवतरणका साथै यात्रु संख्या पनि बढ्ने देखिएको छ । कोरोना भाइरस शुरू हुँदाको वर्ष सन् २०२० को तुलनामा २०२१ मा यात्रु संख्यामा उल्लेख्य सुधार देखिएको छ । सो विमानमा २०२१ नोभेम्बरसम्ममा ९ हजार ९७२ उडान हुँदा १२ लाख ३६ हजार ४८६ यात्रुले सेवा लिएका छन् । सन् २०२० मा उडान र अवतरण गरी कुल ९ हजार ५३९ उडान हुँदा कुल १० लाख ३९ हजार २६१ यात्रुले हवाई यात्रा गरेका थिए । यसैगरी आन्तरिकतर्फ २०२१ को नोभेम्बरसम्म उडान र अवतरण ७२ हजार ८२ पटक हुँदा कुल ३१ लख १६ हजार ५७८ यात्रुले सेवा लिएका छन् भने सन् २०२० मा यस्तो उडान अवतरण जम्मा ३२ हजार ८५१ पटक भएको थियो । यस क्रममा कुल जम्मा ११ लाख ४३ हजार ५५२ यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए ।