अझै ७ ओटा क्यासिनोले बुझाएनन् बक्यौता, र्‍याडिसन होटेलको मात्रै करीब १९ करोड

माघ १९, काठमाडौं । सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात ओटा क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ ।             संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले सात ओटा कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण बापतको आव २०७७/ ७८ सम्मको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको हो । सात ओटा कम्पनीले ८७ करोड १५ लाख १५ हजार रुपैयाँ बक्यौता तिरेका छैनन् । यीमध्ये क्यासिनो सञ्चालनको इजाजतपत्र लिएका दुई ओटा कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल सञ्चालनको इजाजत लिएका तीन ओटा कम्पनी छन् ।             पर्यटन विभागले बुधवार सार्वजनिक सूचना जारी गर्दै पटकपटक ताकेता गर्दा पनि क्यासिनो कम्पनीले बक्यौता बुझाउन अटेर गरेको भन्दै तोकिएको अवधिमा बक्यौता नबुझाउने कम्पनीलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।             विभागका अनुसार बक्यौता नबुझाउने क्यासिनो इजाजतपत्र लिएको कम्पनी होटेल याक एन्ड यति प्रालिले रु २० करोड ६८ लाख १५ हजार र ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटेल) ले  १८ करोड ७६ लाख रुपैयाँ तिर्नुपर्नेछ ।             त्यस्तै क्यासिनो सञ्चालक ह्याप्पी आवर, रक इन्टरनेसनल र सेन्ट्रल मिडिया प्रालिले बक्यौता बुझाएका छैनन् । ह्याप्पी आवरले २१ करोड ५५ लाख रुपैयाँ, रक इन्टरनेशनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ र सेन्ट्रल मिडियाले  १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी छ ।  रासस