काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गते (आज)देखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर निष्कासन गरेको हो ।
हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरू मात्र आवेदन दिनका लागि योग्य भएका छन् ।
गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेस गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुग्नेछ ।
हकप्रद शेयर निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत रहेको गर्ने केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।