कञ्चनपुर । वातावरण सन्तुलन राख्न मद्दत पुर्याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिन थालेको छ । परम्परागत घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउराको प्रयोग घटाएर वन संरक्षणमा टेवा पुर्याउन बायोग्यास, सुधारिएको चुलो र जलविद्युत्को विकल्पका रूपमा सडक सौर्य ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउँदै आएको छ ।
विकट ग्रामीण क्षेत्रमा दाउराको अत्यधिक प्रयोग हुने गरेकाले वातावरण प्रदूषण, वन विनाशसँगै स्थानीय बासिन्दामा स्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण बढ्दो छ । त्यसलाई न्यूनीकरण गर्न अनुदान रकम उपलब्ध गराएर बायोग्यासको प्रयोगलाई सबैको पहुँचमा पु¥याउन प्रयास गरिएको नगरपालिकाका ऊर्जा एकाइका प्रमुख सुरेन्द्रदेव भट्टले बताए ।
‘बायोग्याससहित शौचालय निर्माण गर्नेलाई ३० हजारका दरले प्रति प्लान्ट अनुदान रकम उपलब्ध गराउँदै आएका छौं,’ उनले भने । नगरपालिकाको अनुदानमा आव २०७६/७७ मा १५ र आव २०७७/७८ मा १८ गरी ३३ बायोग्यास प्लान्ट निर्माण भइसकेका छन् । चालू आवमा समेत २० भन्दा बढी बायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएको छ । विपन्नसँगै दुर्गम क्षेत्रमा रहेका बासिन्दालाई पहिलो प्राथमिकतामा राखेर बायोग्यासका लागि अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको एकाइ प्रमुख भट्टको भनाइ छ । नगरपालिकाका १२ ओटै वडाका २५० घरघुरीलाई सुधारिएको चूलोसमेत वितरण गरिएको छ ।
८० प्रतिशत रकम संघीय सरकारले र २० प्रतिशत रकम नगरपालिकाले बेहोर्ने गरी सुधारिएको चुलो वितरण गरिएको हो । नगरपालिकाको विद्युत्को व्यवस्था नभएका क्षेत्रमा सडक सौर्य बत्ती २५ खम्बामा जडान गरिएका छन् । रासस