माघ २७, बाँके । बाँकेको जानकी गाउँपालिकाको गनापुर औद्योगिक नगरीका रूपमा विकास भएको छ । पछिल्लो समय जानकी–६ स्थित गनापुरमा ६३ उद्योग स्थापना भएका छन् ।
नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३० उद्योगमात्र सञ्चालनमा रहेको बेला सो क्षेत्रमा भने सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएका हुन् ।
पछिल्लो समय नयाँ–नयाँ उद्योग थपिने क्रममा रहेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए । गाउँपालिकाले उद्योगमैत्री नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने उनले बताए ।
‘नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग खोल्नका लागि आवश्यक पर्ने जग्गाको अभाव छ । पाइहाले पनि महँगो पर्ने गर्दछ । यसको विकल्पमा उपमहानगरपालिकासँगै जोडिएको र राजमार्गको छेउमै रहेको जानकी गाउँपालिकामा पर्याप्त जग्गा सुलभ मूल्यमा पाउन सहज छ’, उनले भने, ‘त्यसैले बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै पर्ने गरेको छ ।’
सो क्षेत्र नेपालगञ्ज–कोहलपुर सडकखण्डसँगै जोडिएको छ । गनापुरदेखि पश्चिम जाने बाटोमा लहरै उद्योग स्थापना भएका छन् । गनापुरमा सञ्चालनमा आएका उद्योगलाई मध्यनजर गर्दै गाउँपालिकाले सडकलगायतका पूर्वाधार निर्माणमा ध्यान दिएको छ ।
उद्योगसम्म पुग्ने सडकलाई विस्तार गर्दै उद्योग सञ्चालनमा आवश्यक सडक र पूर्वाधार निर्माणमा गाउँपालिकाले ध्यान दिएको कार्यवाहक अध्यक्ष धितालले बताए ।
गनापुरबाट गाउँपालिका कार्यालय हुँदै गुलरिया–नेपालगञ्ज जोड्ने सात किलोमिटर सडकलाई विस्तार गरी सात मिटर फराकिलो पक्की सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको उनले बताए । बाँकेको जानकी गाउँपालिका–५ मा दैनिक ७०० मेट्रिक टन छड उत्पादन गर्ने गरी अम्बे समूहले अत्याधुनिक जय अम्बे स्टिल्स उद्योग थपेको छ ।
पश्चिम नेपालमा ठूला जलविद्युत् परियोजना र निर्माणकार्यमा तीव्रता हुने अनुमानसहित अम्बे समूहले बाँकेमा ठूलो लगानीमा स्टिल्स उद्योग सञ्चालन गरेको हो ।
जानकी– ५ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गमा जोडिएको र नेपालगञ्ज उपमहानगरपालिकाबाट नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढ्दो रहेको बताए । उनका अनुसार गनापुरमा स्थापना भएका ६३ उद्योगमध्ये ६ ओटा बन्द अवस्थामा छन् भने पाँचओटा नयाँ उद्योग सञ्चालनमा आउँदैछन् । अन्य उद्योग सञ्चालनमा छन् । उनले उद्योगलाई सेवा सुविधा दिएर करको दायरामा ल्याएको जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग स्थापना गर्न जमिन नपाइने मात्र नभई महँगो पर्ने भएकाले अधिकांश उद्योगीको नजर जानकी गाउँपालिकामा पर्ने गरेको छ ।
नेपालगञ्जमा उद्योग सञ्चालन गर्दा सहर दुर्गन्धित हुने भएकाले पनि उद्योगीले जानकी गाउँपालिकालाई रोज्ने गरेको नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए ।
उनले जानकी गाउँपालिकामा उद्योग सञ्चालन गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान पठाउन सजिलो हुने भएकाले पनि उद्योगी, व्यवसायीले जानकी गाउँपालिकाको गनापुरलाई रोज्ने गरेको उल्लेख गरे । रासस