कम लागतमै बनाउन सकिन्छ स्टिल स्ट्रक्चरल भवन

काठमाडौं । जहाँ चाहना त्यहाँ उपाय भन्ने लोकोक्ति छ । नेपाली समाज बढी भाग्यवादमा विश्वास गर्ने भएका कारण निराश भावमा भन्ने गरिन्छ, चाहेर मात्र कहाँ हुन्छ र ? विकल्पविहीन कुनै पनि वस्तु हुन सक्दैन । कुनै एक वस्तुको विकल्प कुनै अर्को वस्तु हुन सक्छ । समयको गतिसँगै पुरानो वस्तुलाई नयाँ वस्तुले विस्थापित गर्छ । यो प्रकृतिको नियम हो, जसलाई कसैले आफ्नो वशमा राख्न सक्दैन । सूचना, प्रविधिको विकासले मानिसलाई वस्तु छनोटमा नयाँ क्रान्ति नै ल्याइदिएको छ । मात्र खाँचो छ, विषयवस्तुप्रति रुचि र जान्न चाहने इच्छा । मानिसको यही स्वभावले उसलाई  खुसी र सुखी मात्र बनाएको छैन, नयाँ–नयाँ वस्तुको आविष्कारमा फड्को मार्न सकेको छ । विकासकै प्रतिफलस्वरूप घर निर्माणमा छनोटका चाङ लाग्दै छन् । बजेटअनुसारको सामग्री अनि त्यहीअनुसार घर । गाउँघरमा पैसा अभावमा घरको रूपमा गोठ बनाउने गरिन्छ । त्यही गोठमा बाँकी जीवन हाँसीखुसी गुजार्नु गरिब परिवारका लागि युद्ध जितेजस्तो हुन्छ । सहरमा पनि सबै सम्पन्न र आफूले चाहेजस्तै घर बनाउन सक्ने हैसियत कहाँ हुन्छ ? त्यसैको सही छनोट बन्न सक्छ, स्टिल स्ट्रक्चरयुक्त  भवन । गच्छेअनुसारको भवन इन्जिनियर तिलक बानियाको भनाइलाई सापटी लिने हो भने बलियो बहुतले स्ट्रक्चरल भवन बनाउन सकिन्छ । बहुतले मात्र होइन, साधरण एक–दुईतले भवन पनि बलियो र टिकाउ बनाउन ठूलो धनराशि खर्चिनुपर्दछ, जुन सर्वसाधरणका लागि आकाशको फलसरह हो । एउटा बलियो भवन बनाउन फाउन्डेसन (प्लिन्थ) बलियो हुनु आवश्यक छ । सिमेन्टेड भवन बनाउँदा भवनको तला र माटोको भारवहन क्षमताअनुसार फाउन्डेसन निर्माण गर्नुपर्छ । यही विधि फ्रेम स्ट्रक्चर वा स्टिल स्ट्रक्चर भवनमा पनि लागू हुन्छ । फाउन्डेसनदेखि नै फ्रेम जोड्न डन्डी निकालिएको हुन्छ । फाउन्डेसनदेखि निकालिएको डन्डीमा फ्रेम जोड्दा बेस बलियो हुन्छ । यसले गर्दा फ्रेममा खिया लाग्नबाट बचाउँछ र भवनको आयु लामो हुन्छ । भवनको तलाअनुसार फ्रेमको साइज, मोटाइ फरक–फरक हुन्छ । जति अग्लो तला, सोहीअनुसारको फ्रेमको साइज हुनु आवश्यक छ किनभने स्टिल स्ट्रक्चर भवनमा पिल्लर भन्नु नै फ्रेम (आईबीम) हो । स्टिल स्ट्रक्चरल भवनको वालमा पनि पर्याप्त छनोट सुविधा छ । आफ्नो चाहना र खर्च क्षमताअनुसार इँटा, सिमेन्ट ब्लक, इन्टरलकिङ इँटा, साधारण ब्लक, एसीसी इँटा, प्रिफ्याब वाल आदि प्रमुख छन् । यसमध्येमा इँटाभन्दा अन्यमा २० देखि ३० प्रतिशतसम्म सस्तो पर्छ । तैपनि यसले खर्चमा धेरै ठूलो प्रभाव नपर्ने देखिन्छ । त्यसैले कतिपयले वालको रूपमा पनि खर्च बचतका लागि जस्तापाता प्रयोग गरेको पाइन्छ । यसलाई पनि कम लागतमा भवन निर्माणको गतिलो उपायका रूपमा लिन सकिन्छ । त्यसैगरी स्टिल स्ट्रक्चरल बहुतले भवनमा छत ढलान गर्नुपर्छ ।  छत ढलान गर्दा जस्तापाता बिछ्याएर त्यसमाथि ढलान गरिन्छ । तर, आरसीसी भवनमा भन्दा केही पातलो ढलान गर्नुपर्छ । छानाको रूपमा फाइबर सिट, फाइबर ग्लास, ग्यालबनाइजजस्ता पाता, टायल आदि प्रमुख छन् । टायलबाहेक अन्य फाइबर र जस्तापाता विभिन्न रंगरोगनमा उपलब्ध छन् । सूर्यको प्रकाश प्रवेश गराउन बीचबीचमा सेतो रंगको पाता प्रयोगले भित्र उज्यालो हुन्छ । स्टिल स्ट्रक्चरबाट माथिका सबै सामग्री जुटाएर एउटा पूर्ण भवन निर्माण गर्न सकिन्छ । स्टिल स्ट्रक्चरल भवनको प्रमुख विशेषता भनेकै पर्याप्त छनोट हुनु हो । यसबाट कम लागतदेखि करोडौं मूल्य बराबरको भवन निर्माण गर्ने सुविधा उपलब्ध छ । जस्तो, पैसा कम छ र बसोबास नबनाई नहुने अवस्थामा एकतले घर निर्माण गर्न सकिन्छ । यसमा फाउन्डेसनदेखि सबै सामग्रीमा निम्नतम मूल्यमा घर निर्माण गर्न पाउने छनोट हुनु सर्वसाधरणका लागि राहत हो । स्टिल स्ट्रक्चरल भवनका विशेषता स्टिल स्ट्रक्चरल भवनका केही प्रमुख विशेषता रहेका छन् । पहिलो, यो बलियो र टिकाउ हुन्छ । मापदण्डअनुसारका गुणस्तर सामग्री र त्यसअनुसारको फाउन्डेसन निर्माण गरिएको छ भने यस प्रकारका भवनको आयु सय वर्षभन्दा माथि हुने इन्जिनियर तिलक बानिया बताउँछन् । जग बलियो बन्यो भने पहिलो भवन बलियो हुन्छ, साथमा फ्रेममा खिया लाग्न पाउँदैन । फलाममा खिया लाग्नबाट बचाउन सकिने हो भने त्यसको आयु पूर्ण ग्यारेन्टी हुन्छ । अन्य विशेषतामा कम लागतमा निर्माण गर्न सकिने, कम समयमा निर्माण गर्न सकिने, मर्मतमा कम खर्चिलो र मर्मत गर्न सजिलो, कम क्षेत्रफलमा निर्माण गर्न सकिने, रंगरोगन गर्ने झन्झटबाट मुक्त आदि प्रमुख छन् । निर्माणमा छिटोछरिटो र हेर्दा आकर्षक हुनुको कारण पछिल्लो समय यसको भवन निर्माणमा अधिक वृद्धि भइरहेको छ । अहिले सबैको रोजाइ बनेको छ, स्टिल फ्रेम भवन । ट्रस, पार्टी प्यालेस, ग्यारेज, आवासीय भवन आदि सबै क्षेत्रमा यसैको प्रयोग भएको छ । निष्कर्षमा के भन्न सकिन्छ भने महँगो घर बनाउन नसक्ने सर्वसाधरणदेखि लिएर आधुनिक आकर्षक महलका लागिसमेत उपयोगी हुँदै छ, स्टिल स्ट्रक्चरल भवन ।