मन्त्री र नेताहरूसँग परिसंघ पदाधिकारीको भेटवार्ता, निजीक्षेत्रको घटेको मनोबल उकास्न आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार, ऊर्जालगायत विषयमा मंगलवार दुई मन्त्री र नेता लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने र निजीक्षेत्रको घटेको मनोबल उकास्नुपर्नेमा जोड दिए । साथै कर्मचारीको न्यूनतम पारिश्रमिक बढाउँदा विद्यमान अवस्थालाई ध्यानमा राख्नुपर्ने उनले बताए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भएको भेटमा अध्यक्ष अग्रवालले सबै राजनीतिक दलले अर्थतन्त्रलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए । यस्तै भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरीद गर्ने घोषणा गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए खुलाउने वातावरण बनाउन उनले आग्रह गरे । अध्यक्ष अग्रवालले भूतप्रभावी हुनेगरी कर लगाउँदा लगानीकर्ता हतोत्साही हुने र अन्तरराष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए । पूर्व ऊर्जामन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष लिङ्देनले निजीक्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने धारणा राखे । जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) रोक्नुपर्ने कुनै कारण नभएको भन्दै उनले सबै आयोजनाको पीपीए खुलाइनुपर्नेमा जोड दिए । साथै पीपीए खुला गर्न सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

सम्बन्धित सामग्री