पर्वत (अस) । पर्वतमा निर्मित जीपलाइन शनिवारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । कालीगण्डकी नदीको खोचमा रहेको सुपरम्यान शैलीको यो जीपलाइन एक वर्षमा सम्पन्न भई सञ्चालनमा आएको हो । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जीपलाइनको उद्घाटन गरे ।
पर्वतमा साहसिक पर्यटन बढ्दै गएको समयमा जीपलाइन पनि पर्यटन प्रवर्द्धनको गतिलो माध्यम हुने अपेक्षा गरिएको छ । कुश्मा नगरपालिका–५ चाक्लेडिलदेखि कुश्मा नगरपालिका ४ साउनेबगर पुग्ने जीपलाइनको लम्बाइ १ हजार ४०० मिटर छ ।
गत बिहीवारदेखि टिकट बुकिङ खुला गरिएको छ । जिपलाइनका लागि ३ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । सञ्चालनमा आएको केही दिनसम्म १० प्रतिशत छूट दिन लागिएको सञ्चालक विदुर पौडेलले बताए । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट शुरू हुने जीपलाइनको शुरुआती गति प्रतिघण्टा १३० किलोमिटर हुने र गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने बताइएको छ ।
सुपरम्यान शैलीको विश्वको सबैभन्दा लामो (२ हजार ८०० मिटर) जिपलाइन दुबइमा रहेको र पर्वतको जिपलाइन त्यसपछिको लामो भएकाले पर्यटक आकर्षित गर्न महŒवपूर्ण हुने सञ्चालक पौडेलले बताए ।
हार्नेस कम्पनीले यो जीपलाइन निर्माण गरेको हो । यो जीपलाइन सुपरम्यान र क्लासिक दुवै किसिमबाट गर्न सकिनेछ । कालीगण्डकीलाई दुई ठाउँबाट ‘क्रस’ गर्न सकिने भएकाले पनि देशका अन्य ठाउँमा रहेका जिपलाइनभन्दा पर्वतको जीपलाइन विशेष रहेको लगानीकर्ताको दाबी छ । यो जिपलाइनको यात्रा ६० देखि ९० सेकेन्डमा पूरा हुन्छ ।