म्युचुअल फण्डप्रति लगानीकर्ताको आकर्षण बढ्दै, यो साता कुन-कुन योजनाको मूल्य बढ्यो ?

साउन ८, काठमाडौं । दुई ओटा म्युचुअल फण्डले गत आवको मुनाफाबाट इकाईधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  ती दुई फण्डले लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताको आकर्षण म्युचुअल फण्डको इकाईमा परेको छ । सोही कारण बिहीवार अधिकांश फण्डको इकाई मूल्य उच्च दरले वृद्धि भएको छ ।  लक्ष्मी उन्नति कोषले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेको छ । यो नगद लाभांश वितरण गर्नको लागि फण्डले साउन १३ गते बुक क्लोज गरेको छ । यस आधारमा साउन १२ गतेसम्म कायम इकाई धनीहरुले नगद लाभांश पाउनेछन् ।  त्यसैगरी, लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेको छ । यस फण्डले नगद लाभांश वितरणको लागि साउन १५ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा साउन १४ गतेसम्म कायम इकाईधनीले उक्त नगद लाभांश पाउनेछन् ।  हाल नेपाल स्टक एक्सचेञ्जमा २१ ओटाको म्युचुअल फण्डको मात्र इकाई खरीदविक्री हुन्छ । २१ ओटा फण्डको एक साताको इकाई मूल्यलाई लिएर तलको टेबलमा इकाई मूल्यको तुलनामा गरिएको छ ।  गत साताको बिहीवार र यो साताको बिहीवारको इकाई मूल्यलाई टेबलमा देखाइएको छ । उक्त टेबल अनुसार सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाई मूल्य सबैभन्दा बढी प्रतिइकाई रू. २४ दशमलव २ रहेको छ ।  यही फण्डको इकाई मूल्य एक सातामा सबैभन्दा बढी रू. ३ दशमलव ९२ ले वृद्धि भएको छ । गत साता फण्डको इकाई मूल्य प्रतिइकाई रू. २० दशमलव २८ रहेकोमा यस साताको बिहीवार प्रतिइकाई रू. २४ दशमलव २ पुगेको हो । यसरी हेर्दा म्युचुअल फण्डमा छोटो समयमा लगानीकर्ताले आकर्षण प्रतिफल प्राप्त गरेको देखिन्छ । म्युचअल फण्डको प्रतिइकाई मूल्य रू. १० बाट शुरु हुन्छ ।  अहिले बजार बढेसँगै ठूलो मात्रामा म्युचुअल फण्डको इकाई उठाएर निश्चित समयपछि आफूले अपेक्षा गरेको प्रतिफल पाएपछि बेच्ने गरेको एक लगानीकर्ताले बताए ।  उनका अनुसार अब फण्डहरुले लाभांश प्रस्ताव गर्न शुरु गरेका छन्, राम्रो प्रतिफल दिने विगतमा दिइरहेको त्यस्तो फण्डको इकाई उठाएमा छोटो समयमा राम्रो प्रतिफल प्राप्त हुन्छ ।                                                                  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)