मनकारी जनप्रतिनिधि : एक्बुलेन्सका लागि निःशुल्क निजी सवारी

वैशाख २९, म्याग्दी  । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणका विरामीहरुलाई सेवा दिनका लागि म्याग्दीका एक जना जनप्रतिनिधिले आफ्नो निजी सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न गाउँपालिकालाई दिएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई निःशुल्करुपमा प्रदान गरेका हुन् । पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितहरुलाई सहज तरिकाले अस्पतालसम्म पु¥याउन उनले आफ्नो निजी सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनले नौ सिट क्षमताको स्कारपिओ जिपको साँचो मंगलवार पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई हस्तान्तरण गरेका हुन् । समुदायस्तरमा कोरोनाको जोखिम बढेको र जुनसुकै समयमा पनि संक्रमितलाई अस्पताल सम्म पुर्‍याउनुपर्ने भएकाले कोरोना महामारी रहेसम्म आफूले गाउँपालिकालाई नि : शुल्क रुपमा प्रयोग गर्ने गरी सवारी हस्तान्तरण गरेको अध्यक्ष भण्डारीले बताए । उक्त सवारीलाई एम्बुलेन्सका रुपमा पालिकामा २४सै घण्टा तयारी अवस्थामा राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उक्त सवारीमा स्वास्थ्य उपकरणहरु जडान गरी चालकको व्यवस्था गरेर परिचालन गरिने उनको भनाइ थियो । स्मरणीय छ, अध्यक्ष भण्डारीले यसअघि पनि आफ्नो निजी खर्चमा गाउँपालिकामा विकास निर्माणका अनय कामहरु पनि गरेका छन् । उनले आफू निर्वाचित भएर आएपछिको करीब चार वर्षको अवधिमा गाउँपालिकामा ५० लाख रुपैयाँभन्दा बढीको निजी खर्चमा मोटरबाटो, मन्दिर,विद्यालय लगायतका विकासका पूर्वाधारहरु निर्माण गरेका स्थानीय वासिन्दाको  भनाइ छ ।  

सम्बन्धित सामग्री

बागलुङमा आंशिक लकडाउन, सवारीमा जोर-बिजोर प्रणाली

जिल्ला व्यापीरुपमा लागु हुने गरी बागलुङमा आंशिक बन्दाबन्दी सुरु भएको छ । जिल्लामा शनिबार दुई जना जनप्रतिनिधि, एक जना खाजा पसल संचालक र एक जना क्वारेनटाइनमा रहेका व्यक्तिमा कोरोना पुष्टि भए पछि शनिबार राती १२ बजेदेखि लागु हुने गरी आंशिक बन्दाबन्दी घोषण गरिएको हो । कोरोना संक्रमण समुदाय स्तरमा फैलिए सक्ने सम्भावनालाई लक्षित गरी कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले मानिसहरुका चहल पहल र भिडभाड कम गर्न दुई पाङग्रे सवारी समेत गरी सार्वजनिक तथा निजी सवारी संचालनमा जोर विजोर प्रणाली लागु गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।