लेखापरीक्षणमा विलम्ब

अर्थ मन्त्रालयले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई ३ महीनाभित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । यी दुवै सरकारी कम्पनी हुन् । एउटै कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न नपाउने मापदण्ड बनेपछि बीमा संस्थानलाई टुक्र्याएर नयाँ कम्पनी बनेको हो । बीमा संस्थानले अहिलेमात्र होइन, पटकपटक धेरै वर्षसम्म लेखापरीक्षण नगराएको पाइन्छ । १३ वर्षसम्म लेखापरीक्षण नगराएको इतिहाससमेत छ । संस्थानका अनुसार ८ वर्षको लेखापरीक्षण गर्न बाँकी छ । किन यसरी सरकारी कम्पनीले लेखापरीक्षण गर्न सकिरहेको छैन त ? बीमा कम्पनीहरूले पेस गरेको वासलात समितिले पारित गर्नुपर्ने हुन्छ । तर, समितिले यसमा विलम्ब गर्ने, कम्पनीहरूको वासलातमा कैफियत देखिने र त्यसलाई सुधार गर्न समय लाग्ने भएकाले पनि लेखापरीक्षण प्रभावित भएको देखिन्छ । बीमा कम्पनीको नियामक निकाय बीमा समिति (हाल बीमा प्राधिकरण) हो । तर, नियामक निकायले सरकारी कम्पनीलाई कारबाही गर्न नसक्दा यस्तो भएको हो भन्ने भनाइ पाइन्छ । यद्यपि बीमा समितिले यी कम्पनीलाई लेखापरीक्षण नगरेका कारण रू. १० हजार जरीवाना तिराएको थियो । जरीवाना तिर्नेमा निजी कम्पनीहरू पनि थिए । बीमा कम्पनीमा नै यो समस्या बढी देखिनुमा पक्कै केही कारण होलान् । ती कारणको खोजी गरेर तिनको समाधान नगरे समयमा लेखापरीक्षण हुन सक्दैन । सरकारी कम्पनीमा समयमा नै लेखापरीक्षण हुन नसक्नुमा कर्मचारीको गुटबन्दी र राजनीतिक खिचातानी पनि एउटा कारण रहेको देखिन्छ । बीमा संस्थानमा पनि त्यस्तै भएको हुन सक्छ । त्यसो त लेखापरीक्षण गर्न कर्मचारी अपुग भएको पनि हुन सक्छ । अर्को बीमाको लेखापरीक्षण बढी प्राविधिक हुने र त्यसका लागि पर्याप्त जनशक्ति नहुनु पनि एक कारण हो । बीमाको लेखापरीक्षणका लागि एक्च्युअरी भ्यालुएशन जरुरी हुन्छ भनिन्छ । नेपालमा पर्याप्त एक्च्युअरी छैनन् । बीमा समितिले एक्च्युअरीको नामावली सूचीकृत गराउन सूचना निकाल्दा पर्याप्त आवेदन नै नपर्ने गरेकाले विदेशी कम्पनीलाई समेत सूचीमा राख्ने गरेको छ । तिनले समय दिन नसक्दा पनि लेखापरीक्षण प्रभावित भएको हुन सक्छ । अर्को बीमा कम्पनीहरूले पेस गरेको वासलात समितिले पारित गर्नुपर्ने हुन्छ । तर, समितिले यसमा विलम्ब गर्ने, कम्पनीहरूको वासलातमा कैफियत देखिने र त्यसलाई सुधार गर्न समय लाग्ने भएकाले पनि लेखापरीक्षण प्रभावित भएको देखिन्छ । त्यसैले बीमाक्षेत्रको लेखापरीक्षणमा विलम्ब हुनुका कारण खोजी त्यसको समाधान गर्नुपर्छ । यो काम बीमा कम्पनीको मात्र होइन, नियामक निकायको पनि हो । मन्त्रालयले ३ महीनामा लेखापरीक्षण सक्न निर्देशन दिए पनि त्यससँग सम्बद्ध समस्या समाधान नगरिदिए समयसीमामा काम हुन सक्दैन । काम नभए पनि सरकारी कम्पनीलाई कारबाही हुने देखिँदैन किनभने विगतमा पनि कुनै कारबाही भएको थिएन । अर्को, ३ महीनामा ८ वर्षको लेखापरीक्षण सक्न त्यति सहज छैन । एक वर्षको लेखापरीक्षण सक्न नै ४/५ महीना नै लाग्ने कम्पनीका अधिकारीहरूको भनाइ पाइन्छ । त्यसमा पनि एक आवको लेखापरीक्षणको स्वीकृत भएपछि मात्रै अर्को वर्षको लेखापरीक्षण शुरू गर्न मिल्छ । नियामकलाई प्रतिवेदन बुझाएपछि त्यो स्वीकृत हुन ढिलाइ हुँदा पनि लेखापरीक्षण थप ढिलो हुने गरेको छ । त्यसैले मन्त्रालयको निर्देशनअनुसार ३ महीनामा नै लेखापरीक्षण सम्पन्न हुन सक्ने सम्भावना ज्यादै कम छ । जेजस्तो समस्या भए पनि सरकारी होस् वा निजी कम्पनी तिनले कानूनले निर्धारित गरेको समयमा नै लेखापरीक्षण सम्पन्न गर्नुपर्छ । यदि कानूनले तोकेको समयमा सम्पन्न हुनै नसक्ने अवस्था हो भने त्यसमा परिवर्तन पनि गर्नुपर्छ । अत: लेखापरीक्षणमा हुने विलम्ब रोक्न निर्देशनमात्र पर्याप्त हुँदैन, यसका व्यावहारिक, कानूनी र प्रक्रियागत समस्याहरूको समाधान पनि हुनुपर्छ । यस्तो समस्या अन्य संस्थानमा छ कि छैन ? सरकारले समग्र पक्षको अध्ययन गरी समाधानको उपाय खोज्नुपर्छ । समस्याको वास्तविक कारण नखोज्ने हो भने सतही रूपमा जति कुरा गरे पनि कुनै अर्थ हुँदैन । त्यसैले यतिखेरको आवश्यकता भनेको गम्भीरतापूर्वक समस्याको पहिचान गरी समाधानमा लाग्ने हो ।

सम्बन्धित सामग्री

सहकारीमा कर्जा असुली न्यायाधिकरण खै ?

अहिले देशमा बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, उपभोक्ताजस्ता ३० हजारभन्दा बढी संख्यामा सहकारी संस्थाहरू स्थापना भई आर्थिक तथा सामाजिम विकासमा टेवा दिँदै आएका छन् । यस्ता सहकारी संस्थाले घरजग्गा खरीद, हायर पर्चेज, व्यवसाय, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, उपचारजस्ता विभिन्न शीर्षकमा आफ्ना सदस्यहरूमाझ कर्जा लगानी गर्दै आएका छन् । तर, सहकारी संस्थाबाट कर्जा लिएर समयमै कर्जा नतिर्ने परिपाटीको पनि विकास हुँदै आएको छ । सहकारीमा आएको समस्यालाई सम्बोधन गरी सदस्यहरूको आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको लागि संघीय व्यवस्थाअनुकूल सहकारी ऐन, २०७४ जारी भएको छ । ऐनका व्यवस्थाहरूलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन सहकारी नियमावली, २०७५ रहेको छ । सहकारी ऐन, २०७४ को दफा २ (फ) मा सहकारी संस्था भन्नाले संस्था वा संघ सम्झनुपर्ने र उक्त शब्दले सहकारी बैंकलाई समेत जनाउने गरी परिभाषा गरेको छ । त्यस्तै सहकारी नियमावली, २०७५ को नियम २(ग) मा कर्जा असुली न्यायाधिकरणको परिभाषा गरेको छ । यसै ऐनको दफा ८२ मा सहकारी क्षेत्रको कर्जा असुलीका लागि कर्जा असुली न्यायाधिकरण रहने र त्यसको गठन र सञ्चालनसम्बन्धी व्यवस्था तोकिएबमोजिम हुने व्यवस्था गरेको छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी जिल्ला अदालतको न्यायाधीश हुने योग्यता पुगेको नेपाल न्यायसेवाको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत अध्यक्ष, सहकारी, अर्थशास्त्र वा व्यवस्थापनमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल सरकार, नेपाल प्रशासन सेवामा राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत स्तरको पदमा ३ वर्षको अनुभवप्राप्त व्यक्ति सदस्य र चार्टर्ड एकाउन्टेन्सी वा त्यससरहको परीक्षा उत्तीर्ण गरी वा व्यवस्थापनमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा ‘ख’ श्रेणीको लेखापरीक्षकको प्रमाणपत्र प्राप्त गरी लेखापरीक्षणमा कम्तीमा ३ वर्षको अनुभवप्राप्त व्यक्ति सदस्य रहने गरी तीन सदस्यीय कर्जा असुली न्यायाधिकरण रहने गरी सहकारी नियमावली, २०७५ को नियम ४२ मा उल्लेख छ । यो न्यायाधिकरण सहकारी संस्थाको कर्जा असुलीका लागि अधिकार सम्पन्न निकाय हो । सहकारी संस्थाको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरू कारबाही तथा किनारा गर्ने काम कर्जा असुली न्यायाधिकरणले गर्ने व्यवस्था कानूनमा छ । न्यायाधिकरणले यो अधिकारक्षेत्रको प्रयोग सामूहिक रूपले गर्ने र सहमति नभएमा अध्यक्षसहित दुई जनाको बहुमतको निर्णय मान्य हुने गरी नियम ४३ मा उल्लेख गरेको छ । न्यायाधिकरणले विचाराधीन रहेको मुद्दामा कर्जाको सुरक्षणबापत राखिएको धितो वा ऋणीको जमानत दिने व्यक्तिको स्वामित्व वा हक भएको चल, अचल सम्पत्ति नामसारी, हस्तान्तरण वा विक्री गर्न नपाउने गरी रोक्का राख्न आवश्यक भएमा सम्बद्ध कार्यालयको नाममा अन्तरिम आदेश जारी गर्न सक्ने अधिकार समेत राख्छ । तर, सहकारी नियमावली २०७५ को नियम ४२ मा उल्लेख गरेबमोजिम नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी कर्जा असुली न्यायाधिकरणको गठनमा विलम्ब गरेको कारण सहकारी ऐन, नियमले परिकल्पना गरेको न्यायाधिकरणबाट कर्जा असुली सम्बन्धमा न्याय पाउन सकेको छैन । त्यसैले प्रत्येक सहकारी संस्थाले कर्जा असुलीको कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न सकेको छैन । नेपालको संविधानको धारा १८ ले कसैलाई पनि कानूनको समान संरक्षणबाट बञ्चित नगरिने तथा धारा २०(९) ले प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुुनुवाइको हक हुने गरी मौलिक हक प्रदान गरेको छ । विद्यमान सहकारी ऐन, २०७४ र नियमावली, २०७५ ले कुनै पनि सहकारी संस्थाको कर्जा असुल उपर गरिदिने दायित्व कर्जा असुली न्यायाधिकरणको हुने गरी कानूनी व्यवस्था गरेको छ । सहकारी संस्थाले नियम ३० बमोजिमको प्रक्रिया अपनाएर कर्जा असुल गर्न नसकेको खण्डमा न्यायाधिकरणसमक्ष उजुरी गर्नुपर्छ । उजुरी दिनुअघि उजुरीकर्ता सहकारीले कर्जा असुल उपर गर्न यथेष्ट प्रयास तथा कारबाही गरेको देखिनुपर्छ । यसपछि मात्र न्यायाधिकरणबाट मुद्दाको सुनुवाइ हुन्छ । सुनुवाइको क्रममा उजुरीकर्ता र प्रतिवादी मिल्न चाहेमा कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि न्यायाधिकरणले मिलापत्र गराई दिन सक्छ । तर, न्यायाधिकरण नै गठन नभएको अहिलेको अवस्थामा यो कानूनी व्यवस्था कागजमा मात्र सीमित रहन पुगेको छ । सहकारी संस्थाको कर्जा असुलीको सहजता तथा संस्थाको हकहित संरक्षणका लागि कर्जा असुली न्यायाधिकरण रहने गरी विद्यमान सहकारी ऐन, नियमले परिकल्पना गरेको छ । कानूनबमोजिम गठन भएको सहकारी संस्था तथा त्यस्तो संस्थाबाट कर्जा लिने कर्जावालाले कर्जा असुलीको क्षेत्रमा कानूनी संरक्षण पाउन सकेको छैन । नेपाल सरकारले सहकारी नियमावली २०७५ को नियम ४२ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कर्जा असुली न्यायाधिकरण गठन नगरिदिँदा देशभरि स्थापना भएका सम्पूर्ण सहकारी संस्थाको कर्जा असुलीको न्यायिक मार्ग नै अवरुद्ध भएको अवस्था छ, जुन कार्य वर्तमान संविधान तथा सहकारी ऐनको मर्मविपरीत रहेको छ । सहकारी संस्थाले सहजताका साथ कर्जा असुल गर्न नसक्दा संस्था आर्थिक रूपमा कमजोर हुने र देशको अर्थतन्त्रमा समेत नकारात्मक असर पुग्ने कुरामा विवाद छैन । कर्जा असुलीबापत सहकारी संस्थाबाट नियम ५६ बमोजिम आउने कर्जा रकमको १ प्रतिशत रकमसमेत नेपाल सरकारको गुम्न पुगेको अवस्था छ । त्यसैले प्रत्येक सहकारी संस्था, संघ, सहकारी बैंकको कर्जा असुलीका लागि सक्षम न्यायिक निकाय भनेको कर्जा असुली न्यायाधिकरण रहेकाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यथाशीघ्र कर्जा असुली न्यायाधिकरण गठन गर्नेतर्फ ध्यान पुर्‍याउनुपर्ने भएको छ । यसका लागि कर्जा सूचना अधिकृत, न्यायाधिकरणको कार्य सञ्चालनका लागि नियम ५५ बमोजिम आवश्यक कर्मचारी तथा बजेटको व्यवस्था तथा नियम ५८ बमोजिम आवश्यक कार्यविधिसमेत बनाउनु जरुरी छ । लेखक अधिवक्ता हुन् ।