प्रदेश गौरवको योजना निर्माण ठप्प

बैतडी । सुदूरपश्चिम प्रदेश गौरव योजनाको रूपमा रहेको बैतडीको एक मात्र सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ । योजनामा काम गर्ने कामदार नपाइएको र निर्माण सामग्री महँगो भएकाले सडकखण्ड स्तरोन्नतिको काम रोकिएको हो । जिल्लाको सतबाँझबाट साढे ६ किलोमिटर कालोपत्र गर्न थालिएको उक्त सडकखण्डमा कोरोनाका कारण काम अघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले बताए । यस्तै सोही खण्डको श्रीभावरबाट हाटसम्मको साढे ८ किलोमिटर कालोपत्र गर्ने काममा समेत बाधा पुगेको उनको भनाइ छ । ‘कोरोनाका कारण कामदार पाउनै मुश्किल छ, निर्माण कम्पनीले काम गर्न सहज नभएको बताएका छन्,’ उनले भने ।       चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सो सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेर गत साउनदेखि काम अघि बढाएको थियो । स्तरोन्नति कार्यको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले गरेका थिए । गतवर्ष पनि निषेधाज्ञाकै कारणले ढिला गरी सडक स्तरोन्नति शुरू भएको थियो । सतबाँझबाट साढे ६ किलोमिटर स्तरोन्नति गर्न १२ करोड र श्रीभावरबाट हाट खण्डमा साढे ८ किलोमिटर स्तरोन्नतिका लागि १७ करोड रुपैयाँमा सम्झौता भएको हो । तीन वर्षभित्र काम सक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको भए पनि समयमै सम्पन्न हुने सम्भावना कम रहेको बताइएको छ । प्रदेश गौरवको योजनाअन्तर्गत सतबाँझ–श्रीभावर–हाट सडकको स्तरोन्नति गर्ने काम सम्पन्न भएपछि यो सडकले नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए । ‘यो सडक हाम्रै गाउँपालिका भएर स्तारोन्नति भइरहेको छ,’ उनले भने, ‘सडक निर्माण भएपछि ग्रामीण अर्थतन्त्रमा सुधार आउने विश्वास छ ।’ तत्कालीन जिल्ला विकास समितिले २०५५ सालमा ‘ट्र्याक ओपन’ गरेको यस सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको हो । कोरोनाका कारण प्रदेश गौरवको उक्त योजनाका साथै अन्य सडक निर्माणलगायत विकास निर्माणका काममा ठूलो बाधा पुगेको पूर्वाधार विकास कार्यालय बैतडीले बताएको छ । कोरोना कहरले अन्य बहुवर्षीय योजनाको काम समयमै सम्पन्न गर्न ढिलाइ हुने देखिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जोशीले बताए । जिल्लामा चालू आर्थिक वर्षमा ५५ ओटा सडक निर्माणका काम भइरहेका भए पनि कोरोनाका कारण योजना प्रभावित भएको बताइएको छ । जिल्लामा सञ्चालित अन्य ठूला योजनासमेत कोरोनाले प्रभावित भएका हुन् । पाटन–पञ्चेश्वर, सिल्लेगडा–कटौजपानी, खोचलेक–सित्तड–रीम–डिलाशैनी, देहीमाडौं–गिरेगडा,  गन्ना–गनैखानलगायतका ठूला योजना बढी प्रभावित भएका कार्यालयले बताएको छ । रासस

सम्बन्धित सामग्री

प्रदेश गौरवको योजना निर्माण ठप्प

सुदूरपश्चिम प्रदेश गौरव योजनाका रूपमा रहेको बैतडी जिल्लाको एक मात्र सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ । योजनामा काम गर्ने कामदार नपाइएका र निर्माण सामग्री महङ्गो भएका कारण सडकखण्ड स्तरोन्नतिको काम रोकिएको हो ।जिल्लाको सतबाँझबाट साढे छ किलोमिटर कालोपत्रका लागि काम भइरहेको सो सडकखण्डमा कोरोनाका कारण काम अघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका […]