काठमाडौं (अस) । नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत विश्वविद्यालयमा कार्यरत स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक, शिक्षक, कर्मचारीको तलबी खातामा बंैकले बचत निक्षेपको उच्च ब्याजदर दिनेछ ।
यस्तै, भिसा डेबिट र एटीएम कार्ड निःशुल्क, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ रजिस्ट्रेसन निःशुल्क, बैंकको लकर भाडामा २५ प्रतिशत छुट, जुनसुकै प्रकारको कर्जा लिँदा सेवाशुल्कमा २५ प्रतिशत छुट, डीम्याट, सी–आस्बा, मेरो शेयर रजिस्ट्रेन सुविधा निःशुल्क उपलब्ध गराउनेछ ।
यस्तै, बैंकको कुनै एक शाखामा रहेको खाताबाट बैंकका अन्य कुनै खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहे बिनाशुल्क ट्रान्सफर गरिनेछ ।
आवश्यकताअनुसार विश्वविद्यालय परिसरमा एटीएम मेसिन, बैंक काउन्टर, बैंक शाखा स्थापना गरी बैंकले सेवा दिनेछ ।
सम्झौतापत्रमा पोखरा विश्वविद्यालयका रजिस्ट्रार डा. दीपकबहादुर भण्डारी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरे । बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले आर्थिक कारोबारको रूपमा बैंकलाई छनोट गरेकामा विश्वविद्यालयलाई धन्यवाद दिइन् ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल, राष्ट्र बैंक पोखराका प्रमुख डा. रामशरण खरेल, बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरि बुढाथोकी, विश्वविद्यालयका पदाधिकारी, बैंक कर्मचारीलगायत उपस्थित थिए ।