कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् ।
स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्काेमा छन् । शङ्खरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । “हामीले मिति नै तोकिएर विद्यालयमा पठनपाठन शुरु गर्नु भनेर भन्न मिल्दैन । कतिपय शिक्षक बाहिरबाट आउनुपर्ने हुन्छ”, प्रमुख श्रेष्ठले भन्नुभयो । यहाँँ २३ वटा सामुदायिक र ६ संस्थागत विद्यालय रहेको छ ।
तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गते बाट विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा सङ्क्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखाप्रमुख होमनाथ न्यौपानले बताउनुभयो ।