वैशाख १५, काठमाडौं । काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा बिहीवारदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुने भएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने जानकारी दिएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बिहीवारदेखि निषेधाज्ञा लागू हुने भएतापनि आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने जानकारी दिए ।
विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ । आन्तरिक उडान नियमित हुने भए पनि निषेधाज्ञाअघिको तुलनामा यात्रुको संख्या कम हुने प्रवक्ता क्षेत्रीले बताए ।
तथापि निषेधाज्ञाको नराम्ररी असर आन्तरिक हवाई उडानमा परेको छ । निषेधाज्ञा हुने अघिल्ला दुईदेखि तीन दिनमा वायुसेवा प्रदायक कम्पनीले उडान संख्या थपेर यात्रुलाई गन्तव्यमा पुर्याउन ब्यस्त रहे । यसबीचमा काठमाडौं बाहिरिने र भित्रिने हवाई यात्रु पनि ह्वात्तै बढेका छन् । यात्रुको सुविधालाई मध्यनजर गर्दै अधिक संख्यामा उडान थपिएको एयरलाइन्सले जानकारी दिएका छन् ।
आन्तरिक उडानका ठूला हवाई सेवा प्रदायक कम्पनीहरु बुद्ध एयर, यती एयलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीलाई यात्रु ओसार्ने चटारो परेको छ । यात्रुको चाप बढेपछि वायुसेवा कम्पनीले उडान थपेका छन् । बुद्धले बुधवार २२ र मंगलवार २० तथा यतीले पाँच उडान थपेको थियो । बुधवार पनि सोही हाराहारीमा उडान थपिएको कम्पनीले जानकारी दिएका छन् ।
बुद्ध एयरले बुधवार १५० उडानमार्फत झण्डै आठ हजार यात्रु गन्तव्यमा पु¥याएको छ । सो कम्पनीले मंगलवार मात्रै देशका विभिन्न गन्तव्यमा आगमन र प्रस्थान दुवैगरी १४८ ओटा उडान गरेको छ । ती उडानबाट सात हजार ५०० सयभन्दा बढी यात्रु उडेका छन् ।
बुद्ध एयरले बिहीवारका लागि १०० हाराहारी उडान गर्ने र ती उडानका लागि करीब चार हजार यात्रुले बुकिङ गरेको जानकारी दिएको छ । कम्पनीका सूचना अधिकारी दीपेन्द्र कर्णले निषेधाज्ञा अघिको तुलनामा कम संख्यामा उडान हुने बताए । उडान सञ्चालन भए पनि विमानस्थलसम्म पुग्ने र फर्कनेका लागि के कस्तो व्यवस्था हुन्छ भन्ने अझै अन्यौलता रहेको बताए ।
यती एयरलाइन्सले बुधवार आगमन र प्रस्थान दुवैगरी ७६ उडान गरेको छ । उक्त उडानबाट चार हजार १०० यात्रुले सेवा लिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले बिहीवार २७ उडान निर्धारण गरेको छ । कम्पनीले मंगलवार ७० उडान गरेको थियो । तीन हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।
निषेधाज्ञा लागू भए पनि आन्तरिक उडान नरोक्ने सरकारको निर्णय अनुरुप एयरलाइन्सले उडान नियमित सञ्चालन गर्नेछन् । यसबीचमा यात्रुको संख्या भने न्यून रहेको कम्पनीको भनाइ छ । हवाई कम्पनीले स्वास्थ्य प्रोटोकल पालना गरेर उडान नियमित गर्ने जानकारी दिएका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएकामा कोभिड १९ महामारीकै बीच अहिले २० वायुसेवा प्रदायकले अन्तरराष्ट्रिय उडान गरिरहेका छन् । रासस