आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी उहाँले दिनुभयो ।
कोरोनाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा तत्काल कुनै नयाँ निर्णय हुनसक्ने सम्भावनासमेत रहेको भन्दै उहाँले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा नसोचिएको र कुनै छलफलसमेत नभएको जानकारी दिनुभयो । यसमा स्थानीय तहहरूले पनि विद्यालयलाई सचेत गराउनुपर्ने र आवश्यकताअनुसार अनुगमनसमेत गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।