अन्तत : दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किए डोनल्ड ट्रम्प, 'म फर्किएँ'

वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किएका छन् । शनिवार बिहान उनले ती दुवै प्लाटफर्ममा 'म फर्किएँ' शीर्षकको ११ सेकेन्डको भिडियो पोस्ट गर्दै आफू फर्किएको जानकारी दिएका थिए । भिडियोमा उनले सन् २०१६ को चुनावी सफलतापछि 'यत्तिका समय पर्खाउनु परेकोमा क्षमा चाहन्छु, प्रक्रिया जटिल छ' भन्दै गरेको दृष्य पनि छ । अमेरिकाको संसद भवनमा हिंस्रक दंगा भएपछि सन् २०२१ को जनवरीमा ट्विटरले ट्रम्पको खाता स्थायी रुपमा बन्द गरिदिएको थियो । ट्रम्पले ट्विटरमार्फत हिंसा थप भड्काउन सक्ने भन्दै कम्पनीले सो निर्णय गरेको थियो । ट्विटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका थिए । तर अर्बपति व्यापारी एलन मस्कले आफ्नो स्वामित्वमा लिएपछि ट्विटरले उनको खाता फकुवा गरिदिएको थियो । ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमा हुलदंगा तथा  हिंसा भड्काउन प्रेरित गरेको भन्दै उनलाई जनवरी ७ देखि फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको थियो । गत जनवरी २५ मा फेसबुक र इन्स्टाको प्यारेन्ट कम्पनी मेटा प्लाटफर्म्सले ट्रम्पका खाता फुकुवा गरिदिने बताएको थियो । आगामी राष्ट्रपतीय चुनावमा फेरि पनि उम्मेदवारी दिन चाहेका ट्रम्पलाई विभिन्न सामाजिक सञ्जालका खाता फुकुवापछि ट्विटर, फेसबुक, युट्युब, इन्स्टाग्रामजस्ता प्लाटफर्मबाट चन्दा संकलनलगायत काममा सहजता हुने अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सीहरु

सम्बन्धित सामग्री

फेब्रुअरीमा सामाजिक सञ्जाल सार्वजनिक गर्ने तयारीमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प

पुस २७,  वाशिङटन डीसी (अमेरिका) । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अवको एक महीनापछि नयाँ सामाजिक सञ्जाल ट्रूथ सोशल सार्वजनिक गर्ने तयारी गरेका छन् । ट्वीटर, फेसबुक, युट्युवले आफूलाई प्रतिबन्ध लगाएपछि  ट्रम्पले  सामाजिक सञ्जाल सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । ‘ट्रुथ सोशल’ नामको सामाजिक सञ्जाल फेब्रुअरीमा सार्वजनिक गर्ने तयारी भइरहेको खवर त्यहाँका समाचार एजेन्सीहरुले  सार्वजनिक गरेका हुन् । एप्पलको एप स्टोरमा ‘प्रि-अर्डर’ अर्थात् चाँडै नै सार्वजनिक हुने एपको सूचीमा ‘ट्रुथ’ आइसकेको छ । गत वर्ष ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि ट्विटर,युट्युव र फेसबुकजस्ता कम्पनीहरुले उनलाई आफ्नो खाता सञ्चालन गर्नबाट निलम्बित गरेका थिए । ट्वीटरले भने उनलाई  स्थायी रुपमा  आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाइसकेको छ भने फेसबुकले सन २०२३ सम्म प्रतिबन्ध लगाएको छ । उता युट्युवले भने अनिश्चित समयका लागि ट्रम्पलाई प्रतिबन्ध लगाएको छ । यसपछि उनले आफ्नै सामाजिक सञ्जालको प्लेटफर्म शुरु गर्ने घोषणा गर्दै सामाजिक सञ्जाल सार्वजनिक गर्ने तयारी गरेका हुन् । उनको लगानी रहेको ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रूप (टीएमटीजी) ले समाजिक सञ्जालसँगै भिडिओ स्ट्रीमिङ सेवा पनि शुरु गर्ने बताएको छ। ट्रम्पले यसअघि एउटा बक्तव्यमार्फत  ट्रूथ सोशल नामक सामाजिक सञ्जालले ठूलो प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने र तिनले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको आरोप लगाउँदै कडा आलोचना गरेका थिए ।एजेन्सी

ट्रम्प समर्थकद्वारा अमेरिकी संसदमा आक्रमण, एक महिलाको मृत्यु

काठमाडौं । राष्ट्रपति निर्वाचत जो बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्न बसेको अमेरिकी संसद बैठकमा डोनल्ड ट्रम्प समर्थकले आक्रमण गरेका छन् । आक्रमणबाट एक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू प्रवेश गरेपछि संसदीय बहस रोकिएको थियो । प्रदर्शनकारीहरूले भवनका झ्यालहरू तोडफोड गर्नुका साथै प्रहरीसँग मुठभेड गरेका थिए । यसक्रममा प्रहरीको गोली लागेर एक महिला प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । भिड प्रवेश गरेर अवरुद्ध भएको संसद्‍ बैठक पुनः सुरु भएको छ । संसद्‌ रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि बैठक पुनः सुरु भएको हो । बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ । यता, संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ। आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि ‘आइ लभ यू’ लेखेका थिए। ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लंघन गरेको भन्दै ट्विटरले तिनलाई हटाइदिएको छ । त्यसो नगरेमा उनको खातालाई नै बन्द गरिनुपर्थ्यो भन्ने ट्विटरको स्पष्टीकरण छ । फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइएको छ । यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए। संसद्‌मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरूले त्यसको आलोचना गरेका छन् । पूर्व राष्ट्रपति बराक ओबामाले भनेका छन्, ‘इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन् । यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ ।’ अमेरिकी संसद् भवनमा बुधवारको हमला सन् १८१२ को युद्धपछिको पहिलो रहेको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्ट जनाएको छ । सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो । सो घटनाको विश्वभरबाट निन्दा गरिएको छ ।

फेसबुक ट्रम्पको विरोधी होइनः जकरबर्ग

फेसबुकका संस्थापक मार्क जकरबर्गले उक्त सामाजिक सञ्जाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विरोधी नभएको बताएका छन्।