काठमाडौं। डा. दिनमणी पोख्रेलले आज महान्यायाधिवक्ताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट उनले महान्यायाधिवक्तको शपथ लिएका हुन्। शपथ कार्यक्रम राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरिएको थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार संविधानको धारा १५७ को उपधारा(२) बमोजिम झिमरुक गाउँपालिका–४ प्युठानका अधिवक्ता डा. पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी थिइन्।