नेपाल इन्टरनेट फाउन्डेसनले जनचेतामूलक कार्यक्रम गर्दै मनायो सुरक्षित 'इन्टरनेट दिवस'

माघ ३, काठमाडौ। नेपाल इन्टरनेट फाउन्डेसनले जनचेतामूलक कार्यक्रम गर्दै सुरक्षित इन्टरनेट दिवस मनाएको छ ।  फेब्रुअरी ८ अर्थात सुरक्षित इन्टरनेट दिवसको दिन भर्चुअल कार्यक्रम ‘राम्रो इन्टरनेटको लागि हातेमालो’ सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा विद्यार्थी र पालनपोषण गृहका संस्थापक उपस्थित भएका थिए ।  सुरक्षित इन्टरनेट दिवसको अवसरमा जेसीआई बुढानिलकण्ठका अध्यक्ष प्रदीप धमलाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कास  ट्रेडिङका महाप्रबन्धक तथा संस्थापक निर्देशक प्रमुख वक्ता भूषण रत्न बज्राचार्यले सुरक्षित इन्टरनेट प्रयोगको बारेमा प्रशिक्षण दिएका थिए  ।  त्यस्तै वर्ल्डलिंक मार्केटिङ म्यानेजर तेन्जिन चोग्यालले बालबालिकालाई अनावश्यक सामग्रीबाट जोगाई बालबालिकालाई सुरक्षित राख्न वर्ल्डलिंकका सुविधाबारे र सेफ नेटको प्रयोग गर्ने तरिका बारे जानकारि दिएका थिए । नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले सुरक्षित इन्टरनेट दिवसको पोस्टर प्रस्तुत गरेका थिए ।   सुरक्षित इन्टरनेट दिवसकै अवसरमा फेब्रुअरी ११ मा नेपाल इन्टरनेट फाउण्डेशनले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठ र वडा प्रतिनिधिलाई पोस्टर वितरण गरी कार्यक्रम बारे छलफल गरेको छ । त्यस्तै १२ फेब्रुअरीमा फाउन्डेसनले सुरक्षित इन्टरनेट दिवस २०२२ को अवसरमा बुढानीलकण्ठ नगरपालिकाका तीन वटा बाल आश्रम पालनपोषण गृहमा सन्देशमुलक पोस्टर विमोचन गरेको छ ।  कार्यक्रमको उद्देश्य बालबालिकालाई इन्टरनेट सम्बन्धी जनचेतना र सचेत गराउनु रहेको छ । वर्ल्डलिंक कम्युनिकेसनको सहकार्यमा नेपाल इन्टरनेट फाउन्डेसनले बुढानिलकण्ठ नगरपालिकाका ३७ वटा बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । त्यसैगरी फाउनडेसनले ३ वटा संस्थामा सुरक्षित इन्टरनेट बारे जानकारी पनि दिएको छ । एकता बालबालिका विकास केन्द्रका संस्थापक भानु शर्मालाई अध्यक्ष श्रेष्ठले सुरक्षित इन्टरनेटको बारेमा ज्ञान व्यक्त गर्दै इन्टरनेट सेवाबाट हुने अपराध र त्यसको समाधानका बारेमा जानकारी  दिएका थिए ।  केन्द्रमा १४ जना बालिकाले शिक्षा लिइरहेका छन् । यस्तै बाल अपाङ्ग टेवा संघका संस्थापक डेन्डी शेर्पालाई श्रेष्ठले सुरक्षित इन्टरनेटको बारेमा प्रशिक्षण दिएका थिए । संघले २२ जना अपाङ्गलाई शिक्षा तथा तालिम प्रदान गर्दै आएको छ ।  साथै पवित्र समाज सेवा नेपालकी संस्थापक दीक्षा चापागाईंलाई श्रेष्ठले पोष्टर हस्तान्तरण गरेका छन् । पवित्र समाज सेवामा करिब ५० जना अनाथ तथा वृद्धवृद्धा रहेका छन् ।