घलेम्दी हाइड्रोको अवितरित हकप्रद शेयर बाँडफाँट, आगामी आइतवारदेखि बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यसअघि मङ्सिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको ३२ लाख १७ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको थियो । सर्वसाधारण तर्फको उक्त शेयर कम्पनीले माघ ९ गतेदेखि २३ गतेसम्म लिलामीमा विक्री गरेको थियो । सो अवधिसम्म प्राप्त शिलबन्दी बोलपत्र माघ २७ गते खोली फागुन २ गते कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँट गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ तोकिएको यी शेयर बाँडफाँटको कटअफ मूल्य भने १५१ रुपैयाँ ३५ पैसा छ । उक्त मूल्यमा बोलपत्र पेस गर्नेको हकमा सापेक्षिक भारअनुसार समानुपातिक रूपमा बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धकले दिएको छ । बाँडफाँटमा नपरेको शेयर बापतको रकम फागुन ६ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले विद्यमान चुक्ता पूँजी ५५ करोड रुपैयाँको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । सो अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद विक्री खुला गरेकोमा पुस २५ गते ७७ लाख ८२ हजार २७६ कित्ता हकप्रद शेयर बाँडफाँट भएको थियो ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो ।

सम्बन्धित सामग्री

सिनर्जी पावरको अवितरित हकप्रद शेयर बाँडफाँट, कट अफ मूल्य कति ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले मंसिर ६ गते शेयर बाँडफाँट गरेको हो । कम्पनीले हकप्रद निष्कासन गर्दा विक्री नभएको सर्वसाधारण समूहतर्फको ५ लाख ६३ हजार २ सय ६१ कित्ता शेयर लिलामीमा ल्याएको थियो । उक्त लिलामीको शेयरको कट अफ मूल्य १४२ रुपैयाँ ६० पैसा कायम भएको विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । १४२ रुपैयाँ ६० पैसाभन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने १४२ रुपैयाँ ६० पैसामा कबुल गर्नेलाई समानुपातिक रूपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँट गरिएको छ । लिलामीमा शेयर नपरेका आवेदकलाई कम्पनीले आज मङ्सिर ७ गतेदेखि पैसा फिर्ता गरिने जनाइएको छ । आवेदन फारममा उल्लेख गरिएको खातामा आईपीएसमार्फत रकम ट्रान्सफर गरिने क्यापिटलले उल्लेख गरेको छ । पैसा फिर्ता आए/नआएको यकिन गर्न र नआएको खण्डमा क्यापिटलमा सम्पर्क गर्न पनि क्यापिटलले अनुरोध गरेको छ । कम्पनीले कात्तिक १ देखि १५ गतेसम्म शेयर लिलामीमा ल्याएको थियो ।   कम्पनीले १ कित्ता शेयर बराबर ०.५ कित्ता अर्थात् ५० प्रतिशत अनुपातमा हकप्रद शेयर विक्री गरेको हो । हकप्रदमा विक्री नभएको शेयर कम्पनीले लिलाम गरी बाँडफाँट गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्