बजेट अभावमा पदमार्ग अलपत्र

बागलुङ । बागलुङमा निर्माणाधीन भीमसेन ढुंगा–घुम्टे पदमार्ग बजेट अभावमा अलपत्र परेको छ । पर्यटकीय लेक घुम्टे जोड्ने सो पदमार्गलाई यस वर्ष कतैबाट पनि बजेट परेन । चार वर्षअघि निर्माण थालिएको उक्त पदमार्गको काम गत वर्षको माघयता ठप्प छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको दश लाख बजेटमा अघिल्लो वर्ष ठूलासम्मादेखि गल्लाको घाँटीसम्म एक किमी पदमार्ग बनेको थियो ।    मजदुरले वनमै बास बसेर सो खण्डमा काम गरेका थिए । निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बजेट नहुँदा वर्ष दिनदेखि पदमार्ग निर्माण रोकिएको बताए । तीन वर्षसम्म बजेट आयो, काम पनि भयो, अहिले पदमार्ग अलपत्र जस्तै छ,’ उनले भने, ‘बजेट ल्याउन कतैबाट पनि पहल भएन, हामीले माग गर्दा कोरोनालाई कारण देखाइयो ।’ गलकोट नगरपालिका–७ मल्म, दरमखोलाछेउको भीमसेनढुंगादेखि घुम्टे जोड्ने झन्डै दश किमीको उक्त पदमार्गलाई दुई खण्डमा बाँडेर निर्माण शुरू गरिएको थियो । पहिलो खण्डले भीमसेन ढुंगादेखि राम्चेढुंगालाई समेट्छ । राम्चेढुंगादेखि तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ । शुरूको वर्ष भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत दुवै खण्डमा दश/दश लाख बराबरको काम भएको थियो । दोस्रो वर्षदेखि भने तल्लो खण्डमा बजेट आउन रोकियो । शुरूको बजेटबाट त्यस खण्डको आँगाखेतदेखि तल्लो सिरबारेसम्म जम्मा पाँच सय मिटर पदमार्ग बनेको छ । त्यसयता उक्त खण्डका लागि न बजेट आयो न काम नै भयो । माथिल्लो खण्डमा भने त्यसपछि पनि दुई वर्षसम्म काम भएको अध्यक्ष थापाले बताए । उनका अनुसार प्रदेश र संघ सरकारको पर्यटन मन्त्रालयमार्फत हालसम्म आएको रु. तीस लाख बजेटबाट राम्चेढुंगादेखि गल्लाको घाँटीसम्म करिब तीन किमी पदमार्ग बनेको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले सो पदमार्ग बनेमा घुम्टे, राम्चेढुंगासहित आसपासका गन्तव्यस्थलको प्रवर्द्धन र ग्रामीण पर्यटनको उत्थानमा टेवा पुग्ने बताए । रासस