प्रदेश १ को कृषि मन्त्रालयका सचिव तिवारीलाई कोरोना संक्रमण

मोरङ– प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रामनन्दन तिवारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीका अनुसार शुक्रबार पीसीआर परीक्षण गरेका सचिव डा.तिवारीको शनिबार ढिलो गरी रिपोर्टको जानकारी आएको हो। मन्त्रालयका सचिवसँगै अन्य केही कर्मचारी संक्रमति भएको जनाउँदै प्रवक्ता उप्रेतीले मन्त्रालयको काम कारबाही र दैनिक भेटघाटलाई बन्द गरिएको […]

सम्बन्धित सामग्री

शीत भण्डारणले जोगियो हरियो तरकारी

धरान । पहिलो चरणको कोरोना महामारीमा किसानले धरानस्थित कृषि बजारमा शीतभण्डार नहुँदा करोडौं रुपैयाँ बराबरको तरकारी कुहिएर फाल्नुपर्‍यो । बन्दाबन्दीका कारण बजार बन्द हुँदा कोशी पहाडी जिल्लाबाट ल्याइएका कृषिजन्य उत्पादनको मूल्यसमेत नियन्त्रण गर्न सकिएको थिएन भने बजारमा स्टक राखिएका ५० प्रतिशतभन्दा बढी हरियो तरकारी बिक्री नहुँदा फाल्नु परेको थियो । अहिले भने धरानस्थित कृषि बजारलाई सहज भएको छ । दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि सुनसरी जिल्ला प्रशासनले घोषणा गरेको जेठ १ गतेदेखिको निषेधाज्ञामा बजारमा भएका कृषिजन्य उत्पादन शीत भण्डारमा मौज्दात गरिएको छ । यसले गर्दा बजार खुलेको समय तरकारी आपूर्तिमा सहज हुनेछ भने मूल्य नियन्त्रण गर्न पनि सहज हुने देखिएको छ । जेठ ७ गतेदेखि पूर्ण रूपमा बन्द भएको बजार जेठ ८ गते स्थानीयको चाहनाअनुसार छलफल गरेर खुल्न सक्ने सम्भावना रहेको छ । बजार खुले पनि हरियो तरकारीसहित फलफूल आपूर्ति गर्न कुनै समस्या नरहने बजार व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । उनका अनुसार शीत भण्डारमा अहिले ३० मेट्रिक टन फलफूल स्टक राखिएको छ । त्यसैगरी एक मेट्रिक टन काउली, मूला स्टक छन् । बजारमा आलु डेढ सय मेट्रिक टन, प्याज १ सय, दलहन, लसुनलगायत मागअनुसार खपत हुने गरी १२ मेट्रिक टन स्टक रहेको उनको भनाइ छ । अहिले पनि आपतकालीन अवस्थामा हरियो तरकारी तथा फलफूल आपूर्ति गर्न सकिने अवस्थामा रहेको उनले जानकारी दिए । गत मंसिरदेखि सञ्चालनमा आएको शीत भण्डार हालको निषेधाज्ञाको अवस्थामा महत्वपूर्ण रहेको भट्टराई बताउँछन् । उनले भने, ‘निषेधाज्ञा सुरु भएकै दिन पहाडबाट हरियो तरकारी आएको थियो । शीत भण्डार नभएको भए सबै कुहिएर जान्थे । अहिले स्टक राख्न सफल भएकाले कृषिजन्य उत्पादन खेर जान पाएनन् ।’ प्रदेश १ सरकारको ५० लाख र कृषि बजारको २५ लाख गरी ७५ लाख रुपैयाँको लागत साझेदारीमा पाइलट प्रोजेक्टको रूपमा शीत भण्डार सञ्चालनमा आएको हो । शीत भण्डारमा ६ देखि ८ महिनासम्म फलफूल राख्न सकिनेछ । तीन वटा च्याम्बर रहेको शीत भण्डारको प्रत्येक च्याम्बरको २५ मेट्रिक टन क्षमता रहेको भट्टराईले बताए । एउटा च्याम्बर किसानको आरक्षणका लागि सुरक्षित गरिएको छ । एक पटक तापक्रम मिलाएपछि कुन फलफूल, तरकारीलाई कति चिसो चाहिन्छ, सोहीअनुसार स्वचालित रूपमा सञ्चालन हुने शीत भण्डारले कृषक, उपभोक्ता र व्यापारीलाई फाइदा पुगेको भट्टराईको दाबी छ । बन्दका बेला पनि आवश्यक परे बिक्री वितरण गर्न सहज बनाएको उनले बताए । कुनै आपतकालीन अवस्था वा बजार खुलेको दिनमै पनि स्टकमा रहेका तरकारी बिक्रीमा समस्या नहुने उनी बताउँछन् । बजार खुले पनि मूल्य नियन्त्रण गर्न सहज हुने उनको तर्क छ । धरानमै शीत भण्डार नहुँदा पूर्वी पहाड र अन्य क्षेत्रबाट ल्याइएका फलफूल र तरकारी कुहिनबाट जोगाउन विराटनगरको शीत भण्डार पुर्‍याउनुपर्ने बाध्यता थियो । धरानमै शीतभण्डार भएपछि ढुवानी खर्च मात्र होइन, शुल्कमा पनि राहत मिलेको छ । मूल्य उच्च भएका बेला शीत भण्डारबाट निकालेर बेच्न सकिनेछ । बन्द–हडताल भएका बेला वा बिक्री नभएका बेला सिजनअनुसारका फलफूल, तरकारीलाई शीत भण्डारमा राखेर केही सातापछि बिक्री गर्न सकिने वातावरण बल्ल बनेको व्यापारीहरू बताउँछन् ।