वैशाख २३, काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७५४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ४ करोड ९९ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ४२ करोड ६९ लाख पुगेको हो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएसँगै खुद नाफा बढेको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ८०४ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवमा विद्युत विक्री बापत रू. ९ करोड ४३ लाख आम्दानी भएकोमा चालू आवमा बढेर रू. ८५ करोड २६ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ९६ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ८२ करोड ८९ लाख सञ्चित गरेको हो । चालू आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ८३ रहेकोमा चालू आवमा बढेर रू. २१ दशमलव ७० पुगेको हो । त्यसैगरी सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३६ दशमलव ४७ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव १२ रहेको छ ।