अस्थायी पोष्ट हटाएपछि कञ्चनपुरमा एसएसबीको अर्को अबरोध

काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा न. १० को सडकघाटमा बाटो अवरुद्ध गरेको छ । सीमा स्तम्भ न. ३५ नजिक रहेको अस्थायी सडकलाई एसएसबीले अवरोध गरेको हो । नेपाली र भारतीय दुवै पक्षले प्रयोग गरिरहेको सीमाको सडकमा एसएसबीले हिँड्न नदिएपछि किसानले काटेको उखु मिलसम्म पुर्याउन समस्या भएको छ । अहिलेसम्म प्रयोग गर्दै आएको बाटोलाई ‘नो मेन्स लेण्ड’ भन्दै भारतीय पक्षले अवरोध गरेपछि किसानले काटेको उखु मिलमा लैजान पाएका छैनन् । यो क्षेत्रमा भारतीय पक्षले लागू गर्न खोजिएको स्ट्रीप नक्सामा भने झन्डै सीमा १५० मिटर भारततिर पर्ने देखिएको छ । सोही क्षेत्रमा एसएसबीले केही समय अघि बनाएको अस्थायी पोष्ट स्थानीय जनता र सशस्त्र प्रहरीले हटाइदिएका थिए । सोही विषयमा अनावश्यक इगो साँधेर एसएसबीले नेपालीलाई दुःख दिन खोजेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले बताउनुभयो । उहाँले एसएसबीले भारतीय किसानलाई बाटो प्रयोग गर्न दिएपनि नेपालीमाथि भने अवरोध गरेको जानकारी दिनुभयो । ‘हामीले अस्थायी पोष्ट हटाएपछि एसएसबीले इगो साँध्न खोजेको देखियो’ भट्टले युगदर्शनसँग भन्नुभयो, ‘अस्थायी पोष्ट हटाएपनि उनीहरु ट्रकमा आएर सोही ठाउँमा दिनभर बस्ने र साँझ फर्किने गरेका छन् ।’ उहाँले नेपाली र भारतीय दुवै पक्षले सोही बाटो प्रयोग गर्ने गरेको भएपनि भारततर्फ वैकल्पिक बाटो भएपनि नेपालतर्फ नभएका कारण किसानले काटेको उखु खेतमै सुक्ने अवस्था आएको भट्टले बताउनुभयो । ‘अहिले भनिएको ‘नो मेन्सलेण्ड’ अन्तिम होइन, यो हिजोदेखि दुवै पक्षले प्रयोग गरि आएको बाटो हो’ भट्टले भन्नुभयो, ‘सोही रुपमा स्थानीय किसानहरुले कृषि कार्यकोलागि प्रयोग गर्न पाउनु पर्छ भनेर सीमामा रहेका भारतीय सुरक्षा निकायसँग प्रष्टसँग सङ्ग कुरा राखिएको छ ।’ उहाँले भारतीय पक्षलाई वर्षौदेखि प्रयोग गर्दै आएको बाटोमा अवरोध नगर्न आग्रह गरिएको भन्दै सम्बन्धित नियकाले समस्या समाधान गर्न तत्काल ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो ।